काठमाडौं । लोकतान्त्रिक मुलुकमा जनमत परीक्षण गर्न निश्चित अवधिमा आवधिक निर्वाचन गरिन्छ । आवधिक चुनावले राजनीतिक दलहरूको लोकप्रियता/अलोकप्रियता परीक्षण गर्छ । करिब डेढ वर्षअघि सम्पन्न निर्वाचनमा जनताले कुनै पनि दललाई एकल बहुमत दिएनन् । अर्थात् मिलिजुली सरकार बनाउनु/चलाउनु दलहरूको बाध्यता हो । तर, सत्ताको नेतृत्व धेरै अन्तरले तेस्रो रहेको नेकपा (माओवादी केन्द्र)ले गरिरहेको छ । माओवादीको जम्मा ३२ सिट छ । जबकि कांग्रेस-एमाले एक्लाएक्लैका माओवादीभन्दा दोब्बर सिट छन् । तर, दुई पुराना र ठूला दल कांग्रेस-एमाले ‘३२ सिटे माओवादी’लाई बोकेर सत्ताको वरिपरि घुमिरहेका छन् । माओवादीले दुवैको काँध चढेर सत्ताको स्वाद लिइरहेको छ । आफू सत्तामा टिकिरहन माओवादीले भएभरका सानातिना दल जम्मा गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफू बाचुञ्जेल राजनीतिमा ‘उथलपुथल’ भइरहने बताउँदै आउनुभएको छ ।
के यसैगरी पाँच वर्ष ३२ सिटेले राज गरिरहने हो ? यसको जवाफ अहिल्यै यकिन भन्न सकिँदैन । तर, त्यसो हुन नसक्ने केही संकेत भने देखिएका छन् । सत्तारूढ कांग्रेसकै केही जिम्मेवार नेताहरूले स्थिरताको लागि एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् । केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरता अन्त्य गर्न एमाले र कांग्रेस मिल्नुपर्ने उनीहरूको तर्क छ । कांग्रेस महामन्त्री गगन थापा मात्र होइन, नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले सहकार्यको आवाज उठाइरहनु भएको छ । एमालेकै केही नेताले पनि मसिनो स्वरमा कांग्रेस-एमाले सहकार्यको आवाज उठाइरहेका छन् । शक्तिशाली मानिने मन्त्रालयमा अडान नलिनु र पाएको मन्त्रालयमा पनि ‘बी टिम’लाई अघि सार्नुले सुरुदेखि नै एमाले वर्तमान गठबन्धनमै प्रतिबद्ध नरहेको विश्लेषण हुँदै आएको थियो ।
दुई दल नजिकिने आधार
प्रमुख दुई दलबीच सहकार्य हुनुपर्ने आवाज यसअघि पनि उठेको थियो । गत फागुनमा कांग्रेससँगको गठबन्धन तोडेर माओवादी फेरि एमालेसँग मिलेपछि यो आवाज अझै केही ठूलो बनेको हो । एमालेसँग सहकार्यको बहस गर्नेमा कांग्रेस नेता डा. शेखर कोइराला अग्र स्थानमा हुनुहुन्छ । जसको सुरुवात उहाँले कोशी प्रदेशबाटै गरिसक्नु भएको छ । तत्कालीन सत्ता गठबन्धनको निर्णयविपरीत कोशीमा एमालेसँग सहकार्य अघि बढाएर आफ्नो दलको मुख्यमन्त्री बनाउन सफल कोइराला अहिले फेरि एमालेसँग सहकार्यको हात अगाडि बढाउनुपर्ने बताउँदै आउनुभएको हो । मुलुकको संकट समाधान गर्न दुई ठूला दल कांग्रेस-एमाले मिल्न अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादसमेत थालेको सार्वजनिक भइसकेको छ । एमाले-कांग्रेसबीच नयाँ सहकार्य थालेर संविधान संशोधनको दिशामा जानुपर्ने उहाँको भनाइ छ । वर्तमान मिश्रित निर्वाचन प्रणालीले नै मुलुकमा स्थिरता निम्तिएको कोइरालाको निष्कर्ष छ ।
कोइराला मात्रै होइन कांग्रेस महामन्त्री गगन थापाको निष्कर्ष पनि उस्तै छ । देशलाई राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले सहकार्य आवश्यक रहेको उहाँको तर्क छ । उहाँले पनि कांग्रेस–एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभयो । एमालेसँगको सहकार्यबारे कांग्रेसको संस्थापनइतर समूह मात्रै उत्साहित देखिएको छ । तर, संस्थापन पक्ष यसबारे मौनजस्तै छ ।
कांग्रेस जे पायो त्यही बोलिराखेको छ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश र पीडामा रहेकाले कांग्रेस मनलाग्दी बोलिरहेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद् अधिवेशन अन्त्य गर्दैमा कांग्रेस आक्रोशमा आउन आवश्यक नभएको जिकिर गर्नुभयो । हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको खाली समय राख्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यको उपयुक्त समय यही भएको ओलीले दाबी गर्नुभयो । ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्री-बजेट डिस्कसन आदिको कुरा, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरूको तयारी छलफल, अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठीकै हो । यतिबेला बन्द हुनैपथ्र्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन सुरु हुनैपर्छ,’ ओलीले भन्नुभयो ।
कांग्रेसले जिद्दी मात्रै गरिरहेको ओलीले बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्र्स, भ्यालुज कसरी अगाडि बढ्ने भन्ने कुराको सीमा हुन्छ,’ उहाँले भन्नुभयो, ‘कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नुपरेन ? उहाँहरू तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरूले सच्याउनुपर्छ ।’
२०-३० सिटेले तर्साउने खेल सधैँलाई बन्द गरौँ : थापा
कांग्रेस महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि एमालेसँग संवादका लागि प्रस्ताव गर्नुभएको छ । पूर्व-पश्चिम संवाद यात्राका क्रममा आइतबार बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गर्नुभएको हो । संवाद भन्नेबित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न उहाँले आग्रह गर्नुभयो । ‘नेकपा एमालेसँग संवाद गरौँ, सरकारका लागि होइन । संवाद भन्नेबित्तिकै केपी ओलीजीलाई के लाग्छ भने सरकार बनाउनेभन्दा पनि निर्वाचन प्रणाली सुधारका लागि’, थापाले भन्नुभयो ।
चुनावअघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैँका लागि अन्त्य हुने उहाँको दाबी थियो । ‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्याऔँ । सकिन्छ भने संविधान बदलौँ, नभए कानुन बदलौँ,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धी कानुन संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौँ भने चुनावअघि पसल खोलेर धन्दा चलाउने । २०-३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैँलाई बन्द गरौँ ।’
व्यवस्था सुदृढीकरण गर्न आवश्यकता छ : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताउनुभयो । उहाँले विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको स्मरण गर्नुभयो । फेरि राजा फर्किन नसक्ने उहाँको भनाइ थियो । ‘यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ । तर, अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले,’ उहाँले भन्नुभयो, ‘यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । बहुदलीय व्यवस्था सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच