काठमाडौं । लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुईदिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको छ ।
संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजारभन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा लेखा व्यवसायीको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आइएफएसी)का अध्यक्ष अस्मा रेसमौकीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीका अनुसार नेपालले लेखा व्यवसायमा भित्र्याएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीनवटा सत्र हुनेछन् । त्यस्तै, दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दिगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ ।
आइक्यानले नेपालमा सिए शिक्षाको विकास र यसका सदस्यको नियमनको काम गर्दै आएकोे छ । लेखा व्यवसायीका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आइक्यानले सम्मेलनका दौरान उक्त विषयसमेत प्राथमिकताका साथ उठाउने भएको छ । लेखा व्यवसायीको कामको न्यूनतम शुल्क तोक्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव, एक्यानका अध्यक्ष दीपक पाण्डे, अडानका अध्यक्ष केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सिइओ तथा वरिष्ठ सिएहरू सहभागी हुनेछन् । साथै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण, सहकारी विभाग, नेपाल बिमा बोर्ड, आन्तरिक राजस्व विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, कम्पनी रजिष्टारका प्रतिनिधिसमेतको सहभागितामा नियमनबारे छलफलसमेत गरिने भएको छ । सम्मेलनमा देशभरबाट लेखा व्यवसायीको सहभागिता हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच