म्याग्दी । दक्षिण–पूर्व लमतन्न पसारिएको भिरालो पाखो । वर्षौ पहिले त्यही पाखोलाई सम्याएर बनाइका बारीका ठूल्ठूला गह्रा । गह्राको डिलमा डाले घाँस । गह्राको बिचमा गाई भैसी बाँध्ने अस्थायी (टहरा) गोठ ।
सिंचाइको सुविधा भएको र जे लगाएपनि राम्रो फसलदिने मलिलो माटो । तर, म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं ३ मुनाको हजारौं रोपनी जग्गा कहिँकतै फाट्ट फुट्टरुपमा आलु खेती बाहेक अरु जमिन बाँझै पल्टिएको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाई भैैसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रुपमा प्रयोग गरेका छन् ।
करिब ६ सय घर परिवारको बसोबास रहेको बाख्लो वस्ती भएको गाउँ हो मुना । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रा पछि पुग्न सकिने मुना पाँच वर्षअघिसम्म अत्यन्त दुर्गम मानिथ्यो । अहिले यातायातको पहुँच पुगेसंगै सुगम त भएको छ, तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरि गाउँपालिका वडा नं ३ मुनाका वडासदस्य कर्म सिं घर्तीले बताउनुभयो ।
वडासदस्य घर्तीका अनुसार उन्नत तरिकाको खेतीपाती,व्यवसायिक पशुपालन र आयआर्जन मूलक कार्यक्रममार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु यहाँ रहेका छन् । तर,यी सबै कुराहरु केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीय वासिन्दाहरु खाली जग्गालाई घुम्ती गोठको रुपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।
वडा सदस्य घर्ती भन्नुहुन्छ–“घुम्ती गोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँ भरी ८० भन्दा बढी घुम्ती गोठहरु रहेका छन्,खेती गर्नु पर्ने जग्गालाई बाझै पल्टाएर घाँस उमारेपछि खाद्यान्न लगाएत अन्य वालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ ?।”
“हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक) मा लैजान्छौं,हिउँदमा वेसी झार्छौं,पशु पाल्छौं,दूध,मही खान्छौं,यसैगरी यत्रो जीवन बाँचियो,अब मर्ने बेलामा किन नानाभाँति गर्नु प-यो” मुनाका ७९ वर्षिय पमबहादुर पुनले भन्नुभयो ।
“खै केके जाती हो दिन्छ भन्छन्, पशु गोठ दर्ता गरे र पशु पालन गरे अनुदान हो कि के पाइन्छ पनि भन्छन्, पैसा नभए जग्गा धितो राखेर बैंकले पैसा दिन्छ पनि भन्छन्,तर यी सबै कुरामा हामीलाई चासो छैन,जे छ त्यसैमा खुसी छौं” अर्का ७४ वर्षिय शेरबहादुर पाइजाले भन्नुभयो–“पैसा तिर्न नसके बैंकले जग्गा खाइदिन्छ रे ! गोठ भएका ठाउँमा अरु बाली लगाए हुन्छ हुँदैन ठेगान छैन, त्यसैले बाजे,बराजुको पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौं ।”
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका वडाअध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यसायिक कृषि गर्ने सोंच भए पछि स्थानीयहरुको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ रहेको छ ।
यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौं न भन्दा पनि मान्नुहुन्न’ वडासदस्य घर्तीले बताउनुभयो ।
उहाँका अनुसार यहाँका वासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै बैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसंग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरु यहाँ छन् । तर, ती अवसरहरु त्यतिकै खेर गइरहेका छन् ।
जिल्लाका लेकाली क्षेत्रहरुमा प्रशस्तै मात्रामा पशुपालन गरिन्छ । निर्वाहामुखी पशुपालन भनिए पनि भेडाबाख्राबाट भने यहाँका किसानले राम्रै आम्दानी पनि गरेका गुर्जाबाट बेनी आउँदै गरेका तमवहादुर विकले मुनामा यस सम्वाददातासंग भन्नुभयो “गर्नेले राम्रै पनि गरेका छन्,भेडाबाख्रा बेचेर वार्षिक ५ लाख कमाउने व्यक्तिहरु पनि पश्चिमी क्षेत्रका लेकाली वस्तीहरुमा भेटिन्छन् ।”
बिकका अनुसार भेँडाबाख्रा, गाई,भैंसी,याक÷चौँरीका लागि गाउँमा घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ, । त्यसैले गर्मी र चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरुले चिसोको समयमा घुम्ती गोठहरु बेँसी झार्छन भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गर्दछन् ।
विकले दिएको जानकारी अनुसार मुनादेखि माथिका वस्ती (लुलाङ,मुदाी,गुर्जा) का गोठहरुमा झण्डै २ हजार गाई,भैंसी र गोरु पालिएका छन् भने भेँडी गोठमा झण्डै ८ हजारको हाराहारीमा भेँडाबाख्रा पालिएका छन् ।
चिसोमा बेँसी झारिएका घुम्ती गोठहरु गर्मी सुरु भएसँगै लेकतिर सारिन्छ । “चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरु बेँसी सारिन्छ । चैत – वैशाखदेखी बेँसी झारिएका घुम्ती गोठहरु बिस्तारै माथिल्लो क्षेत्रतर्फ सारिन्छन्,” उहाँले भन्नुभयो ।
पशुपालन गर्नु निकै दुःखको पेसा हो । तर,यति धेरै दुःख गरेर धानिएको यो पेसा आजसम्म पनि आय आर्जनसंग जोडिन सकेको छैन । गोठभरी गाईभैंसी,हलगोरु र भेडाबाख्रा हुँदा पनि घुम्ती गोठका गोठालाहरुको अवस्था भने ज्यूँका त्यूँ छ ।
गर्मीमा उनीहरुको हरमा रहेका कपडाले नै जाडोपनि कटाउने गर्छन् । छोरा,नाति विदेश भएपनि उनीहरु आफ्नै इच्छा र परम्परागत लुगामा नै रमाउन अभ्यस्त छन् । वडाअध्यक्ष पुन भन्नुहुन्छ “पैसा नभएर पनि होइन,छोरा नाति,अमेरिका,अष्ट्रेलिया छन् । यिनीहरुले जे मागे पनि पु¥याइ दिन्छन् । तर,लगाउँदै नलगाए पछि उनीहरु पनि के गरुन् ।”
धौलागिरि गाउँपालिकाको केन्द्र मुनाको वडा नं ३ को वडा कार्यालयको तल्लोपट्टि मुना–मटला सडकखण्ड मुनिको घुम्ती गोठमा चारवटा गाई गोरु र ३ वटा भैसी पालेर वस्नु भएका डबहादुर विकले दिन कटाउन सजिलो हुने भएको र (गोरस) दुध,मही खान पाइने भएकोले पशुपालन गरेको बताउनुभयो ।
यति धेरै पशु पालेर पनि उहाँले घिऊ मात्र वेच्ने गर्नुभएको छ । ”दूध विक्रि गर्ने ठाउँ छैन, महि पा¥यो,यसो कहिले काही घिऊ सम्म बेचिन्छ” उहाँले भन्नुभयो “दुःख धेरै छ,आम्दानी त छैन सरोवर ।”
वडाअध्यक्ष पिर्म पुनले पशुपालक कृषकहरुलाई आयआर्जनसंग जोड्न वडाले पटक पटक गरेको प्रयास पनि उहाँहरुकै वेवास्ताका कारण असफल भएको बताउनुभयो । उहाँका अनुसार परम्परालाई छोड्न नसक्नु नै यहाँका पशुपालक कृषकहरु आय आर्जनसंग जोडिन नसक्नुको मुख्य कारण हो ।
पश्चिम म्याग्दीका लेकाली जंगल र खर्कहरु जैविक विविधताले भरिएका छन् । यहाँ यार्सागुम्वा, कटुकी, निरमसी, बोधो, सतुवाजस्ता बहुमूल्य जडिबुटी पनि पाइन्छन् । तर खर्कहरुमा चरिचरन खुला गरिदा यस्ता बहुमूल्य जडिबुटीहरु पशुचौपायँका आहारा बनेका स्थानीय लखबहादुर भण्डारीले बताउनुभयो ।
त्यसैगरी यहाँ मृग, चितुवा, बनविरालो, बाँदर जस्ता जंगली जनावर र डाँफे, मुनाल, गिद्ध, ढिकुर, तित्रो, उल्लु, चिल जस्ता पंक्षीहरुको वासस्थान पनि रहेको छ । तर गोठ सर्दा मानिसहरु पनि संगै हुने र उनीहरुले गाउँमा मानिसलाई बोलाएर शिकार गर्ने हुँदा जैविक विविधताका स्रोतहरु पनि नासिँदै गएका त्यस क्षेत्रका जनप्रतिनिधिहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच