काठमाडौं । गर्मी सिजन सुरु भएसँगैै आगलागीको घटना नभएको दिन नै हुँदैन । हरेक दिन एक/दुई ठाउँमा होइन देशका दजैनौँ ठाउँमा आगलागीका घटना भइरहेका छन् । आगलागीको जोखिम पनि सबैभन्दा बढी सुक्खा याममै हुन्छ । तर, अरू समसयमा पनि आगलागीका घटना नहुने भने होइन । देशका विभिन्न स्थानमा चैतयता डढेलोका घटना उच्च भएका छन् । विज्ञहरूले अहिलेको अवस्थालाई ‘जटिल’ भनेका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार दैनिक ५० हाराहारीमा आगलागीका घटना भइरहेका छन् । पछिल्लो पाँच दिनमा मात्रै देशभर २१३ स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ । यस्तै, पछिल्लो पाँच दिनमा देशभरका १५१ स्थानमा डढेलो लागेको छ । देशभरका ६० जिल्ला डढेलोबाट बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भएको थियो । २०८१ वैशाखयता १२ गतेसम्म आगलागी र डढेलोबाट सात जनाको मृत्यु भएको छ । आगलागीबाट ३० जना घाइते भएका छन् । ३७१ परिवार प्रभावित भएका छन् ।
सरकारले आगलागीका घटनाको रोकथामका लागि पूर्वतयारी नगरेकै कारण बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । भएका पूर्वाधारले मात्र काम गर्नसक्ने अवस्था छैन । वनमा लागेको आगो निभाउन वर्षात् नै हुनुपर्ने अवस्था छ । लामो समयदेखि वर्षा नहुँदा आगलागीका घटना बढेको विज्ञहरू बताउँछन् । यस्तै, मानिसहरूले अन्धविश्वासका कारण पनि जंगलमा आगो लगाउँछन्, अनि हावाले गाउँसम्म आगो फैलिन्छ । अहिले गर्मीले तराईमा तातो हावा चलेको छ । यसले पनि आगलागी फैलिन मद्दत गरेको विज्ञको भनाइ छ ।
गाउँ पस्न थाले वन्यजन्तु
वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला-ठूला काठ, मुढा डढेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बनाएको छ । वन जंगलमा आगलागी भएपछि वन्यजन्तु ज्यान जोगाउन गाउँ पस्न थालेका छन् । दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेका हुन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् । आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन् । पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायत वन्यजन्तु तल्लो क्षेत्रमा झरेका हुन् । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको विभिन्न ठाउँका स्थानीय बताउँछन् ।
केही दिन अझै गर्मी बढ्ने
देशका धेरै क्षेत्रमा केही दिनयता तापक्रम बढ्दो क्रममा छ । गर्मीले कतिपय स्थानमा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेको छ । तापक्रममा तत्काल गिरावट आउने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा आउँदा केही दिन तापक्रम अहिलेकै जस्तो वा थोरै बढी हुनसक्ने पूर्वानुमान छ । तत्काल तापक्रम घट्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । पूर्वी तराईमा तापक्रम उकालो लाग्न थालेको उहाँले बताउनुभयो । तल्लो पहाड र तराई-मधेश क्षेत्रमा गर्मी अझै बढ्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावनासमेत नरहेको महाशाखाको पूर्वानुमान छ । देशका अधिकांश स्थानमा आउँदा केही दिन वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो । महाशाखाले यसअघि तराई क्षेत्रमा तातो लहर हुने भन्दै सतर्कता आउन आग्रह गरेको थियो ।
मटिहानीमा पाँच सय स्थानीय विस्थापित
आगलागीले महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा बस्ती नै सखाप भएको छ । बुधबार सात घण्टाको आगलागीमा १५० घरगोठ जलेका हुन् । आगलागीले घरगोठ जलेपछि पाँच सय स्थानीय विस्थापित भएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताउनुभयो । आगलागीले बस्ती नै सखाप भएपछि पीडित अहिले खेत र सडकमा पुगेका छन् । बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर जलेको उहाँले बताउनुभयो । आगलागीले घर भित्रका सबै सरसामान जलेका छन् । कतिपय पशुचौपाया पनि मरेको उहाँले बताउनुभयो । आगलागी कसरी र कहाँबाट भएको हो भनेर अझै यकिन भएको छैन । स्थानीयका अनुसार बुधबार मध्याहृन १२ बजेतिर बस्तीको दक्षिण-पश्चिम कुना (आँप बगैँचा क्षेत्र) बाट सुरु भएको आगो एक घण्टामै खेत रहेको क्षेत्रसमेत पार गरेर पूरै बस्तीमा सल्किएको थियो । दक्षिण-पश्चिम कुनामा आगलागी हुनासाथ खाना पकाउने एलपी ग्यासका चारवटा सिलिण्डर पड्किएपछि आँपको बगैँचास्थित यो बस्तीका करिब सय घरमा आगो पुगेको स्थानीय बताउँछन् । बुधबार मध्याहृन आगलागी भएको १५ मिनेटमै मटिहानी नगरपालिकाको दमकल पुगेको थियो । तर, बस्तीभर आगो फैलिएपछि जलेश्वर, रामगोपालपुर, गौशाला, जनकपुर, सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीसहित भारतको बिहार, साहरघाटबाट समेत दमकल झिकाइएको थियो । आगो निभाउन दिनभर १२ दमकलको प्रयोग भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन सय जनशक्ति आगलागी नियन्त्रणमा परिचालन भएको थियो ।
जोखिमबाट कसरी जोगिने ?
- खाना पकाउने ग्यास सिलिण्डर र चुलो प्रयोग गरिसकेपछि बन्द गर्ने
- खाना पकाउने ग्यास, बिजुली र सलाई जस्ता वस्तुसँग बालबालिकालाई खेल्न नदिने ।
- पूजा कोठामा बालिने धुप, भान्सामा कोइला तथा लामखुट्टे धपाउने धुपलगायत बालेर नछाड्ने ।
- आगोले छिट्टै टिप्ने पेट्रोलियम, मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थ आगो नजिकै नराख्ने ।
- धेरै पुरानो बिजुलीको तार र मल्टिप्लग परिवर्तन गर्ने ।
- चुरोट खाएपछि ठुटा जथाभावी नफाल्ने ।
- दमकलको फोन नम्बर १०१ सुरक्षित राख्ने ।
आगलागी भइहाले के गर्ने ?
- नआत्तिने, आत्मबल बलियो बनाएर सुरक्षित हुने ।
- परिस्थितिलाई राम्ररी विश्लेषण गरेर छिटो निर्णय गर्ने ।
- कपडामा लागेको आगो निभाउन भुइँमा लडीबुडी गर्ने ।
- सुरक्षित स्थानतर्फ जाने बाटो तय गर्ने ।
- आगलागीमा परेको व्यक्तिलाई तत्काल अस्पताल लैजाने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच