✍️ कलानिधि दाहाल
चाक्षुस दृश्यमा रमाउनुको अर्थ भौतिक आकर्षणको मोहकता हो । समुद्रको किनारमा बसेर देखिने जेलिफिसमा सर्वस्व ठान्नुको मजा परेलीको विश्वासमा जगत्को दूरता नापिन्छको सीमा ज्यादा हलुकापनको संकेत मिल्छ । सायद यात्रा नै जीवन हो भन्नुको गुढता पनि यही हुन सक्छ । हृवेलको अन्दाज नहुनु समुद्र बुझाइप्रति अस्पष्टता र नानीको अवमूल्यन छँदैछ कहाँ परेली कहाँ गहिरो गर्तमा सूक्ष्मताका कसीबाटमात्र फेला पर्ने तेजस्वी नानीको महत्वबोध ।
अक्ल्याण्डको एक रातको बास । दृश्यको महत्व पनि तनमनमा तन्दुरुस्ती रहुञ्जेल न हो । चरीयानमा बितेका सोह्र घण्टाको थकान यसै पनि आलस्य प्रतीक त छँदै थियो । त्यसमा पनि अमितपत्नी एलिसा मैयाको मीठो सत्कारले, परिकार समेतले लठ्ठिएका हामी जाडाका मारमा ताताको अन्तर मादकताले रात गएको पत्तो भएन, स्वप्नस्मरणको ख्याल पनि रहेन । उजेलाको चहकमा पनि चिसोको गंगटोअँठ्याइले बाहिर निस्कने सम्भावना रहेन नै ।
प्रशान्तको गहिराइ कति छ ? कसैले भन्न सक्दैन । चौडाइको चमत्कार सुदूरबाट देख्दै लाग्छ-यस परिधिको नायक ऊ नै हो । मान्छेका बुताले भ्याएसम्म थुन्छन्, थुनिन्छ । चराले चुम्छन्, चुमिन्छ । हृवेलहरू पौडिन्छन्, आनन्दले छाती थापिदिन्छ ।
तीन बजे चरीयान त्यहाँबाट पनि प्रस्थानको पूर्वनिर्धारित यात्रा प्रबन्धले हामीलाई अक्ल्यान्ड दृश्यावलोकनमा अवरोध खडा छँदै थियो । अक्ल्याण्ड के हो ? कस्तो हो र किन होको गहिरो मनोजानकारी त अमितएलिसासँगका वार्तालापबाट स्पष्ट भइसकेका थिए नै । ठीक तीन बजेको चरीयान यात्राका लागि फेरि अघिल्लो दिन अवतरित भएको अक्ल्याण्ड विमानस्थलमा अमित दम्पतिको न्यानो साधनमा हामी घुइँकियौँ हिजो आएका चिल्ला चिल्ला सडक पार गर्दै र मनोरम बाहिरी झिलिमिलीको संसारलाई आँखाबाट मनभरि घुसाएर ।
एक घण्टाको अक्ल्याण्ड नेपियर यात्रा पखेटिए टिनका दायाँबायाँ प्वाँख क्रमशः घुम्दै । हामी उनै चार जना छोरी कलापी, नाति कृदय, स्वास्नी कल्पना र म प्रशान्त महासागरको माथि संसारकै दोस्रो प्राकृतिक सुन्दरताले भरिएको मनोरम देश न्युजिल्याण्ड आकाशमा उड्यौं । बानी परिसकेकाले अब मलाई आँखा चिम्लनुको अन्धकारभन्दा बढी आँखा हेर्नुको चुम्बकीय आकर्षणले खिचिरहृयो ।
प्रशान्तको गहिराइ कति छ ? कसैले भन्न सक्दैन । चौडाइको चमत्कार सुदूरबाट देख्दै लाग्छ-यस परिधिको नायक ऊ नै हो । मान्छेका बुताले भ्याएसम्म थुन्छन्, थुनिन्छ । चराले चुम्छन्, चुमिन्छ । हृवेलहरू पौडिन्छन्, आनन्दले छाती थापिदिन्छ । मौकामा चौका मार्न ऊ पनि कहाँ बाँकी राख्छ र ? लामो समयको दमित चाहना एकाएक उफार्छ र सुनामी बेगमा डाँडाहरू सम्याउँछ, पर्वत खसाल्छ । पहाडका टुप्पालाई नुहाएर आफूमै आत्मसात गर्छ । विज्ञानको धज्जी उडाउँछ । मान्छेको अहङ्कारलाई चितामा सुताउँछ र धुवाँसगै भष्मीभूत गराएर आफैंमा आत्मसात गराउँछ । मान्छेले ठानेको विकासलाई खण्डहरमा परिणत गराएर एकतमास आफ्ना सहज प्राकृतिक अनुहारमा मुस्कुराउँदै सुनामी सहेलीसँग सुहागरात मनाउँछ ।
आकाशगंगाबाट म हेरिरहेछु । विशाल फाँट कतै भँगाला परेर जंगलभित्र नागवेली सुतेको छ कतै बिस्तारै यात्राका पाइला चलाएको छ, अनन्त यात्रा । न उसलाई हाम्राझैँ हतार छ कहीँ पुग्न । न कुनै यान्त्रिक साधनको सहारा जरुरी छ, न कतै भाडा तिर्न डलर खोज्नु पर्छ कार्ड निकालेर होटलको, स्टेहोमको । ऊ जहाँ हिँड्यो त्यहीँ यात्रा, जहाँ पुग्यो त्यहीँ उसको विश्राम । न कतै भय छ, न कतै खुशीको माद । वृक्षको आड, खोपी परेका जंगल झोपडीभित्रको शान्त टल्पलाहट । लहरा ओर्लन्छ भीरपाखापहराबाट, एक चुम्बा अनन्त उल्लास सुकेका पात झर्छन् सरक्क, उसमाथिकै अनन्त विश्राम । पौडाएको छ माथि माथि । मानौं त्यहाँ एउटा व्यापक विश्व पौडी प्रतियोगिताको ओलम्पिक भइरहेछ ।
निरस, सुख्खा, निर्जन पहाडको तल ओछ्यान लगाएर सुतेका छन्- भँगालाहरू । अन्तरहरियालीको बीज छर्न मृण्मयी मृत्तिका उर्वर बनाउँदै अदृश्य जाँगरहरू पत्थरभित्र पात उमारिरहेछन् । विश्वप्रेमका रेसाहरू फिँजाएर बल्दै गरेका बारुदलाई व्यङ्ग्य पस्किरहेछन् । बमका छर्राहरू ओस्याएर तानाशाहका छातीमा फूलका माला भिराइरहेछन् । हिटलर प्रणयको मृत्यु मर्यो यसलाई नै देखेर । पुटिनको सानो छाती बिस्तारै पत्थरमा प्लाष्टर हुँदैछ । नेपोलियनका चिहानमाथि दुबाका पिपिरा हुर्केर बुद्घको शीत छम्कदै छ । शीतका सन्तान जन्माएर शैतानका बस्तीमाथि समताको स्वर्ग उमार्नकै लागि प्रशान्त सन्तान छरिएका छन्, कतै पत्थरका पहाड फोरेर, कतै ढिस्कामा फूल फुलाएर, कतै लहरामा प्रेमको बैँस हल्काएर हलक्क बिना विज्ञानको यात्रा निरन्तर हिँडिरहेछन् प्रशान्तका सन्तानहरू ।
अलिकति डाँडाका टुप्पा तर्काउने हिसाबले पाइलट हात उचालिन्छन्, कोल्टिन्छन् । मेरो चरीयानको गतिमा अनायास एक धक्का लाग्छ, म झस्कन्छु । मजस्तै अरू तर्सन्छन् । ठेडी खुस्केर कतै भिज्दै गरेको चट्टान बल्ने त होइन ? साना कमिला आकारमा कुद्दै गरेका तल कहाँ-कहाँ असम्भव गहिराइमा देखिने त्यो पनि फाट्टफुट्ट मात्रका जनबस्तीको जीवनमनभित्रबाट धुवाउँने त होइन । कारण, यो टीनका पाताको चरीचाल कसैको नियनत्रणमा छैन । छको डरलाग्दो भ्रम पालेर झिनो आशाको त्यान्द्रोमा हरेक मान्छे स्वप्निल यात्रा गरिरहेछ-विपनाको आकाशमा ।
रोमाञ्चक पक्ष त न्युजिल्याण्डको आकाशबाट स्पष्ट देखिने यहाँको सुनसान चकमन्न निस्तब्ध सन्नाटाको व्यापक परिधि हो । नेपालभन्दा कहाँ-कहाँ आयतनका आकारमा ठूलो रहेको यसको छाती अत्यन्त उजाड छ । निर्जन डाँडाहरू, टापु-टापुको संयोजन, उर्वर माटोको अभाव, चट्टानी चहकको मात्रा ज्यादा हुनु यसको अर्को दुखद् पक्ष हो । चाहेर पनि खेतीयोग्य जमिन नभएको आभास भयरहित भएर चरीयानको आकाशे झ्यालबाट तल नयन विस्फारित गर्ने जो कोहीले सहज देख्न सक्छ ।
आमामामामा जताततै प्रशान्तका सन्तान मूल घरबाट अलग्गिएर असंख्य झुप्रावासमा सरेका छन् । मान्छेको साहस तिनका वरिपरि, छेउछाउ, नजिकपासो कतै पनि रहन सम्भव छैन । जुनसुकै बेला यिनका जवानी उम्लेर स्वाहा हुने भय । जुनसुकै बेला हुरीका वेगले बितन्डा मच्चाउने भय ।
मेरो त मनबाट जीवनप्रतिको भय हटेपछि सम्पूर्ण मन माथि रहेर पनि तलै बिच्छ्याउँनु थियो, बिच्छ्याइदिएँ । अनुभूत सत्य यसरी देख्नु थियो जहाँबाट विदेशको स्वप्नमा हराउने मेरा चेतनारहितका नेपाली मुटुका मर्म दूधका दूध पानीका पानी छुटिन सकून् । या त उनीहरूलाई मजाले प्रशंसा गर्ने ढोकाहरू चर्मका प्वालप्वालमा निर्माण हुन सकुन् या त पहिले अदृश्यमा परिकल्पित प्राक्कल्पना तथ्यगत सार बनेर बैँसिऊन् ।
आमामामामा जताततै प्रशान्तका सन्तान मूल घरबाट अलग्गिएर असंख्य झुप्रावासमा सरेका छन् । मान्छेको साहस तिनका वरिपरि, छेउछाउ, नजिकपासो कतै पनि रहन सम्भव छैन । जुनसुकै बेला यिनका जवानी उम्लेर स्वाहा हुने भय । जुनसुकै बेला हुरीका वेगले बितन्डा मच्चाउने भय । केही नहोला मानौं तर मौसमी खेलसँगै मूल घर अर्थात् प्रशान्तको शारीरिक स्वरूपमा आएको फैलावटले सुनामीको सन्सनाहट यति माथि उफ्रन्छ कि आकाशमा उड्ने पक्षीको जीवनरक्षा त सम्भव छैन भने जमिनमा गुफाभित्र डराउँदै लुक्ने जाबो मान्छे वा अन्य कुनै पनि प्राणीको जीवनरक्षा त कल्पनाभन्दा निकै परको जादु दुनियाँ हो । यो विवशताको सिकार हुने सम्भावना न्युजिल्याण्डका कुनाकन्दरा भएका छन्, भई पनि रहँने छन् ।
दृश्यबाट नै उत्पन्न हुने यी भयका भारले चरीयानभित्र नै मेरो शिर थिचिएको छ । विचार उम्लिएको छ । आगमनका यात्रीप्रति टीठलाग्दा अनुहार परिभाषित भएर जमेका छन् । म छु । अरू छन् । सबै छन् तर कोही छैनन्का आभासले सताउने रहेछ गहिरा सोचकलाई । समयको पञ्जाभित्र हुर्किएको यो भयको तूफानी झापड जति बेला जसका शिरमाथि या यति नै बेला सबैका शिरमाथि बज्रन सक्छ यमराजको कठोर कालपास बनेर ।
एकाएक चरीयानले मुन्टो निहुरायो तल । घरक्कको आवाज वा विनाआवाज पनि माथिबाट तल झर्दाको सन्सनाहट, सिरिंग आङभरि उम्रिएका काँडाआकारले मुटुको गतिलाई विन्दुबाट अलग गर्छ । यता उता चारैतिर सामुद्री झुप्राहरू । पर साना शहरका झिंगटी छानाहरू छपक्क छरिएर बसेका छन् । घडङ्ग चरीपांग्राले जमिन घर्षण गर्दा यौनोन्माद युवायुती धक्काको कम्पनझैँ, केही समयको घर्षणपछि चरमानन्दको शान्तिझैँ चरीयान टक्क रोकिन्छ । उसका शरीरका दुईतिरका पंखा चल्मलाइरहे पनि ढोका उघ्रन्छ-घरक्क । ठम्ठम् सोचिएको नयाँ तर उस्तै जमिनमा झर्छौं । विवश स्वागतद्वारमा बच्चाको बिच्छाउँनासहितको चिल्लो चिप्लो महँगो मजेदार कार वा जमिनयानसामु बल्जफ्तीको मुस्कान खोलेर उभिएका ज्वाइँ दीपक लामिछाने न्यजील्याण्डस्थित नेपियरको विमानस्थलमा । गत तीन अंकदेखि क्रमागत ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच