आयुर्वेद चिकित्सालयमा ११ महिनामा ६० हजारको उपचार

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 9 mins

चितवन । चितवनको रत्ननगर स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्षको ११ महिनामा करिब ६० हजार जनाले उपचार सेवा लिएका छन् । चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट५९ हजार ८२९ जनाले लिएका हुन् ।

चिकित्सालयका प्रमुख डा.कोपिला अधिकारीले अनुसार बहिरंग चिकित्सा सेवाअन्तर्गत ३२ हजार ६७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार ८२९ जनाको उपचार गरिएको बताउनुभयो । चिकित्सालयले यसै अवधिमा ४ हजार १६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, ४ हजार ६४५ जनालाई जेष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपान आमा तथा शिशु सेवा, ५ हजार २४० जनालाई नागरिक आरोग्य स्वास्थ्य सेवा, ६ हजार २१० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा. अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ४ हजार ४७६ जनालाई अकुपञ्चर सेवा, ३ हजार ८९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा रहेको संस्थालाई हालै नाम परिवर्तन गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नामाकरण गरिएको हो । जिल्लामा १३ वटा सरकारी र २८ वटा गैरसरकारी आयुर्वेद संस्थाहरु रहेका छन् । ती मध्ये आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल ६ वटा, पोलिक्लिनिक एक र क्लिनिक २१ वटा रहेका छन् ।

चिकित्सालयको चितवनको सातै पालिका कार्य क्षेत्र रहेको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, डालेटार र मेघौली, माडी र राप्तीको वीरेन्द्रनगरमा आयुर्वेद औषधालय रहेका छन् । यस्तै कालिकाको सगुनटोल, खैरहनीको कुमरोज र इच्छाकामनाको चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र र भरतपुरको शिवनगरमा पिएचसि जीवनशैली सेवा रहेका छन् । चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिंदै आएको छ ।

यस्तै दुखाई व्यवस्थापनअन्तर्गत स्वेदन, शिरोधारा, पिनास, माईग्रेनअन्तर्गत नश्य सेवा दिंदै आएको छ । यस्तै आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण, जेष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिंदै आएको छ । चिकित्सालयमा स्वीकृत स्थायी दरबन्दी १३ जना रहेकोमा करार र अस्थायीसमेत गरी हाल १९ जना कार्यरत रहेका छन् । निकट भविष्यमै अन्तरंग सेवा सञ्चालनको तयारी गरेको चिकित्सालयमा नर्सलगायतका जनशक्तिको भने अभाव हुने देखिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितितर्फ आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म २५ लाख ७९ हजार ६०८ रुपैयाँ आम्दानी र १३ लाख ६५ हजार २५६ रुपैयाँ खर्च भएको छ भने १२ लाख६ हजार ३५२ रुपैयाँ मौज्दात रहेको प्रमुख डा. अधिकारीले बताउनुभयो । बि.सं. २०७८ सालदेखि फार्मेसी सञ्चालन गर्दै आएको चिकित्सालयमा ६९ प्रकारका औषधि रहेका छन् । फार्मेसीबाट वार्षिक ११ लाख १४ हजार ८९ रुपैयाँ आम्दानी र १० लाख ८८ हजार ९८२ रुपैयाँ खर्च हुँदै आएको छ ।

चिकित्सालयले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पूजीगततर्फ दुई लाख विनियोजन भएकोमा एक लाख ८० हजार ४८३ रुपैयाँ खर्च भएको छ । यस्तै संघीय सरबारबाट प्राप्त ८१ हजार मध्ये ८१ हजार नै खर्च भएको छ । चालु खर्चतर्फ संघीय सरकारबाट ३५ लाख ४३ हजार विनियोजन भएकोमा ३० लाख ३४ हजार १३२ खर्च भएको छ भने प्रदेश सरकारबाट विनियोजित एक करोड ६९ लाख २१ हजार मध्ये एक करोड २७ लाख ४४ हजार ६५७ खर्च भएको डा.अधिकारीले जानकारी दिनुभयो । कार्यालयले समग्रमा ९० प्रतिशत भौतिक प्रगति र ७७.३२ प्रतिशत आर्थिक प्रगति हासिल गरेको डा. अधिकारीको भनाई छ ।

कार्यालयले एक जिल्ला एक जडिबुटी उद्यान निर्माण कार्यक्रमलाई मनसुनसँगै प्रक्रिया अघि बढाईने उहाँको भनाई छ । कार्यालयले निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, स्वस्थ जीवन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम कार्यक्रम, समन्वयात्मक समीक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, कर्मचारी पुनर्जाजगी योग अभ्यास कार्यक्रम यस अवधिमा सञ्चालन गरेको छ ।

चिकित्सालयमा आउने मध्ये प्रमुख १० रोगमा अम्लपित्त, कास रोग, उदर रोग, संधिवात, उच्चरक्तचाप, अर्श, श्वास, आमवात, वातारक्त र मधुमेह रहेका छन् । डा. अधिकारीले संघीय सशर्त बजेटमा भारी कटौती भएकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा कठिनाई भएको बताउनुभयो । उहाँले स्थानीय सरकारको सहयोग भएमा सेवा केन्द्र सञ्चालनमा सहज हुने बताउनुभयो । यसैगरी निजी स्वास्थ्य संस्था नियमन गर्नका लागि स्थानीय सरकारले आवश्यक कानुन निर्माण गरी सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यालय प्रमुख डा. अधिकारीले २५ शैयाको अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि आवश्यक सामग्रीभन्दा पनि जनशक्ति अभाव समस्या हुन सक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सो अवसरमा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख डा.सुरेश महर्जनले ११७ वटा औषधि उत्पादन गर्ने लक्ष्य लिईएको बताउँदै चालु आर्थिक वर्षमा नै ११ वटा औषधि उत्पादन सुरु गर्ने बताउनुभयो । उहाँले किसानसँग सिधै जडिबुटी खरिद गर्न समस्या भएको भन्दै यसका लागि पहल भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?