पूर्वी नाका काँकडभिट्टामा बढाइयो सुरक्षा सतर्कता

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 7 mins

झापा ।  बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमसँगै मुलुकको पूर्वी सीमा नाका काँकडभिट्टमा सुरक्षा सतर्कता बढाइएको छ । तेस्रो देशका नागरिकको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेजको सत्ता बहिर्गमनसँगै गृहमन्त्रालयले  सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएसँगै काँकडभिट्टा लगायत पूर्वी सीमामा सुरक्षा अवस्था चुस्त बनाइएको छ । अहिले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिलाई आवश्यक सोधपुछ गर्ने गरिएको छ । नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी र मुख्यालयहरुलाई तेस्रो देशबाट गैरकानुनी रुपमा हुनसक्ने प्रवेश तथा  गैरकानुनी गतिविधिलाई सुक्ष्मरुपमा निगरानी गर्न र सोही अनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिसकेको छ । सीमा क्षेत्रबाट तेस्रो मुलुकका नागरिक बिनाअनुमति प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा अवस्था चुस्त पारिएको गृह प्रशासनले जनाएको छ ।

सीमामा खटिएका सुरक्षाकर्मीलाई  बिनाअनुमति तेस्रो देशका व्यक्तिलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको छ । भारतीय नागरिकको भेषमा बंगलादेशी नागरिक बिनाअनुमति  नेपाल छिर्न सक्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको हो । पूर्वी नाका काँकडभिट्टाबाट भारतको "चिकननेट" हुँदै ४० किलोमिटरको दुरीमा बंगलादेशको सीमा रहेको छ ।नेपालको झापाबाट बंगलादेशको राजधानी ढाका करिब ५ सय किलोमिटरमा छ ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले जिल्ला प्रशासन कार्यालयको आदेशमा आफू नेतृत्वको कार्यालयले निगरानी बढाइएको बताउनुभयो । बंगलादेशको बढ्दो तनावपछि पूर्वी नाका काँकरभिट्टामा प्रहरीले सुरक्षा सतर्कता बढाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी मीमकुमार लामाले बताउनुभयो ।

यद्यपि, उनले कोभिडपछि बंगलादेशबाट आउन भारतले कडाई गरेकाले भारत हुँदै तेस्रो देशबाट मानिस नेपाल प्रवेश गर्ने संभावना कम रहेको जानकारी दिनुभयो । डिएसपी लामाले सम्भावना कम रहेको बताए पनि बंगला र विहारसँग जोडिएको नेपालको लामो खुला सीमा भएकोले बिना अनुमति तेसो देशबाट नेपाल भित्रन सक्ने सम्भावना उच्च छ ।

यसअघि पनि तेस्रो मुलुकका मानिस भारतीय भूमि हुँदै अनधिकृत रुपमा नेपाल प्रवेश गरेर काठमाडौँ पुगेका थिए । विगतमा  म्यान्मारमा सैनिक ‘कु’ हुँदा रोहिंग्या शरणार्थी काँकडभिट्टा तथा अन्य नाका हुँदै गैरकानुनी रुपमा प्रवेश नेपाल प्रवेश गरेका थिए । त्यसैगरी  अफगानिस्तानमा तालिवानी समूहले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै अफगानी पनि ‘शरणार्थी’ भेषमा नेपाल प्रवेश गरेर काठमाडौँसम्म पुगेका थिए ।

सीमा क्षेत्रमा कमजोर नियमन र सुरक्षा सावधानीमा देखिएको कमजोरी तथा खुला सीमानाका कारण म्यानमारका रोहिंग्या र अफगानी नागरिक गैरकानुनी रुपमा नेपाल छिरेपछि पनि अहिले कडाइ गरिएको प्रशासनले जनाएको छ ।  बंगलादेशबाट भारत हुँदै मानिस झापाबाट मात्रै होइन, कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहजै नेपाल प्रवेश गर्न सक्छन् ।

अहिलेसम्म कति आए नेपाल

बंगलादेशमा आन्दोलन चर्किएपछि काँकडभिट्टा नाका हुँदै ७१८ जना नेपाली स्वदेश फर्किएका छन् । यो सोमबार स्वदेश फर्किएका एकजना नेपाली विद्यार्थीसहितको संख्या हो । जुलाई २१ तारिखदेखि अगष्ट ५ तारिखसम्म बंगलादेशबाट ४५२ पुरुष र २६६ महिला गरी जम्मा त्यसमध्ये अधिकांश नेपाली विद्यार्थीहरु छन् । केही नेपाली खेलाडीहरु पनि रहेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

११ कन्टेनर रोकिए

बंगलादेशमा जारी आन्दोलनका कारण  लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर  काँकरभिट्टामा रोकिएका छन् । असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। पुनः  हिजोदेखि ( सोमबार ) तीन दिनका लागि नाका बन्द भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशीय नाका फुलबारी-बंगलाबन्धमा थप केही कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।

अवस्था सहज नभएसम्म ती कन्टेनर जान नसक्ने र उताबाट पनि आउन सक्ने अवस्था छैन । नाका तीन दिनका लागि बन्द भनिएपनि अवस्था लम्बिन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?