काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीमा नयाँ नेतृत्वको विकास गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा जारी स्थायी समिति बैठकमा सहभागी नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोक्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविछिन्न ३५ वर्ष नेतृत्व गरेको भन्दै अब परिवर्तन गर्नुपर्ने नेताहरूले प्रस्ताव गरेका हुन् ।
उपमहासचिव जनार्दन शर्माले तीन तरिकाले नेतृत्व हस्तान्तरण गर्न सकिने प्रस्ताव गर्नुभएको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी बैठकमा उहाँले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी तीन प्रस्ताव गर्नुभएको हो । नेतृत्व हस्तान्तरण गर्दा अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्नुपर्ने उहाँको प्रस्ताव छ । बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ । हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गनुपर्ने उहाँको भनाइ छ । त्यसो नभए हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न उहाँले प्रस्ताव गर्नुभएको छ । पार्टी बनाउन पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा गई नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको भनाइ छ ।
स्थायी समिति बैठकमा लिखित प्रस्ताव राख्नुभएका उपमहासचिव शर्माले विधि र पद्धतिअनुसार पार्टी नचल्नु, जनयुद्धमा लडेका योद्धाहरूको व्यवस्थापन गर्न नसक्नु, पार्टीभित्र फरक मत राख्नेलाई दबाउन खोज्नु, नेताहरूको जीवनशैली पारदर्शी नहुनुलगायत कारणले पार्टीमा समस्या आएको बताउनुभयो । पार्टी निर्माणका लागि विधान पुनर्लेखनका साथै नेतृत्वको कार्यकाल तोकिनुपर्ने उहाँले बताउनुभयो । पार्टी बलियो बनाउन विचारको संश्लेषण, विधि, पद्धतिअनुसार नेतृत्व चल्ने गरी विधान पुनर्लेखन गर्नुपर्ने, अन्तसंघर्षमा फरक मतको सम्मान हुनुपर्ने, पार्टी जनतासँग जोडिनुपर्ने, सबैलाई कामको जिम्मेवारी दिनुपर्ने, परिवारवादको अन्त्य गर्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेलगायत प्रस्ताव गर्नुभयो । शर्माले पार्टीको विधान लेखनको बेलादेखि नै नेतृत्वसँग फरक मत राख्दै आउनुभएको छ ।
अध्यक्षज्यूले अविछिन्न ३५ वर्ष नेतृत्व लिनुभयो, अब त्यस्तो हुनुहुँदैन : उपमहासचिव पुन
उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राख्नुभयो । पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने प्रस्ताव गर्नुभयो । ‘अबको नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ । अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन,’ उपमहासचिव पुनलाई उद्धृत गर्दै ती नेताले भन्नुभयो, ‘अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला आएको छैन । तर, कार्यकारी तोक्ने गरी विधानमै उल्लेख गर्नुपर्छ ।’ यस्तै, सचिव राम कार्कीले अहिलेको नेतृत्व र संगठनबाट समाजवादी क्रान्तिको नेतृत्व लिन नसक्ने ठोकुवा गर्नुभयो । नेतृत्वको लागि नयाँ पुस्ता तयार हुनुपर्ने उहाँको भनाइ थियो । बैठकमा शर्मा, पुन मात्र नभई अधिकांशले अबको नेतृत्वमा कार्यकाल तोकेरै जानुपर्नेमा बहस केन्द्रित गरेका थिए ।
मूल नेतृत्वले नै पार्टी मैले फुटाउने हल्ला फैलायो : उपमहासचिव शर्मा
माओवादी केन्द्रका उपमहासचिव शर्माले मूल नेतृत्वले नै आफूलाई पार्टी फुटाउँदै छ’ भन्ने हल्ला फैलाएको आरोप लाउनुभएको छ । मूल नेतत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू रहे पनि नेतृत्व ती प्रश्नको उत्तरहरू दिन नलागी ध्यान अर्कोतिर मोड्न लागिपरेको उहाँले जिकिर गर्नुभयो । शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको आरोप लगाउनुभयो । खुमलटारबाटै जनार्दन एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि थप तीव्रता दिइएको आरोप लगाउनुभयो । ‘उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टीलाई फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो’, शर्माको धारणालाई उद्धृत गर्दै ती सदस्यले भन्नुभयो, ‘देशभर यसको असर देखापर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’ यस विषयमा देशभरबाट दैनिक सयौँले फोन गरेर फुटबारे सोध्ने गरेको पनि शर्माले बताउनुभयो । शर्माले विभिन्न समयमा आफूले लिएको अडान र प्रश्नकै कारण आफूविरुद्ध अनेक हल्ला चलाइएको जिकिर गर्नुभयो । ‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझैँ पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रूपमा भ्रम सृजना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ?’ शर्माको प्रश्न छ,’ यसबारे गम्भीर समीक्षा हुनुपर्छ ।’
कसैले चाहँदैमा तत्काल नेतृत्व हुने कुरा होइन : प्रचण्ड
तर, अध्यक्ष प्रचण्डले भने कसैले चाहँदैमा तत्काल नेतृत्व नहुने धारणा राख्नुभयो । वर्ग संघर्ष, वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका र परिस्थितिको आवश्यकताले नेतृत्व जन्मिने प्रचण्डको भनाइ थियो । उहाँले आफू विचार निर्माणमा लाग्ने सोच रहेको बताउनुभयो । त्यसका लागि सामूहिक सेटमै सोच्नुपर्ने प्रचण्डले बताउनुभएको ती स्थायी समिति सदस्यले बताउनुभयो । ‘नेतृत्व चाहँदैमा तत्काल हुने कुरा होइन । त्यो वर्ग संघर्ष र वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका, परिस्थितिको आवश्यकताले नेतृत्व जन्मन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘म आफैँ विचार निर्माणमा लाग्ने सोच हो । त्यसका लागि सामूहिक सेटमै सोच्नुपर्छ ।’
‘अमेरिकी षड्यन्त्रमा शेख हसिना र मलाई सत्ताच्यूत गरियो’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपिपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण गर्नुभएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफूलाई एकै ढंगले हटाइएको जिकिर गर्नुभयो । प्रचण्डले एसपिपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेस गर्नुभएको थियो । दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताउनुभयो ।
वामपन्थी र देशभक्त शक्तिसँग सहकार्य र पार्टी एकतामा जोड
बैठकमा विचारको विकास, सांगठनिक योजानसहित आगामी कार्ययोजनाबारे पनि बहस भएको छ । सरकार पश्चगमनतर्फ जान लागेको भन्दै प्राप्त उपलब्धिको रक्षा गर्न आगामी दशैँ-तिहारपछि सडक संघर्ष चर्काउने माओवादी बैठकमा प्रस्ताव आएको छ । सडकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत वामपन्थी दलहरूसँग बृहत् एकता र धु्रवीकरण गर्ने रणनीनि बनाउने योजनामा माओवादी छ ।
विचारको विकाससँगै संविधान संशोधनविरुद्ध सडकमा बृहत् मोर्चाबन्दी हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । त्यसका लागि बैठकमा गम्भीर बहस भइरहेको उहाँले जानकारी दिनुभयो । ‘विचार संश्लेषणका लागि व्यवस्थित बहस चलाएर समाजवादी विचारलाई थप विकसित गर्नुपर्छ । प्राप्त उपलब्धि जोगाउन आन्दोलन अनिवार्य छ । भ्रष्टाचारविरुद्ध राम्रो काम गर्न खोज्दाखोज्दै सरकारबाट हटाए भन्ने सन्देश गएको छ । दुई दलीय सिष्टमलाई संविधान संशोधन गर्न खोजिँदै छ, त्यो सम्भव छैन,’ उहाँले भन्नुभयो । अहिले पार्टी निर्माण र जनतामा जान हामीलाई राम्रो अवसर आएको भन्दै त्यसका लागि बृहत् वामपन्थी धु्रवीकरणका लागि अपिल गर्ने प्रस्ताव अध्यक्षले राखेको उहाँले जानकारी दिनुभयो । पार्टी बलियो बनाएर लैजान विचार मिल्ने दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादवसँग तत्काल पार्टी एकता गर्ने, एकीकृत समाजवादी पार्टीसहित अन्य वामपन्थी दलहरूलाई धु्रवीकृत हुन अपिल गर्ने उहाँले बताउनुभयो । यस्तै, सचिव देवेन्द्र पौडेलले विचार संश्लेषण, पार्टी निर्माणका साथै सदन र सडकको मार्चालाई बलियो बनाउन पार्टीभित्र बहस र छलफल भइरहे पनि कुनै निकर्षमा नपुगेको जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताउनुभएको थियो । बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एस, विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वका नेतालगायत दलहरूसँग एकताको पहल भइरहेको बताउनुभएको थियो । सदनलाई प्रभावकारी बनाउन रास्वपा, एकीकृत समाजवादीलगायत अन्य विपक्षी पार्टीसँग सहकार्य गर्ने माओवादीको रणनीति छ ।
नेताहरूको सम्पत्तिको विवरण सार्वजनिक गर्न माग
माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने प्रस्ताव गर्नुभएको छ । ओरालो यात्रामा रहेको माओवादीलाई पुनः गति दिनु अहिलेको आवश्यकता रहेको भन्दै शर्माले त्यसका लागि पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्नेसमेत बताउनुभएको छ । यस्तै, पार्टीको तर्फबाट संवैधानिक र नीतिगत व्यवस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमार्फत संस्थागत गरी स्थायित्व दिनु आवश्यक भए पनि त्यसो हुन नसकेको शर्माको निष्कर्ष छ । संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहीन र एजेण्डाविहीन हुँदै समाज रूपान्तरणको अभियानबाट विस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भएको उहाँको निष्कर्ष छ । एकथरी नेता कार्यकर्ताहरू पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौतारिने वातावरण निर्माण भएको उहाँको ठहर छ ।
चुनाव चिहृन फेर्न प्रस्ताव
शर्माले पार्टीका कार्यक्रमलाई आम जनतासम्म पस्किँदै सामाजिक न्याययुक्त समाज निर्माणका लागि चारवटा आधारहरूमा केन्द्रित हुन जरुरी रहेको औँल्याउनु भएको छ । जसअनुसार वर्तमान परिवेश र कामअनुरूप तालमेल हुनेगरी पार्टीको नाम परिवर्तन गर्नुपर्ने उहाँको प्रस्ताव छ । आम जनताले सहज रूपमा स्वीकार गर्नेगरी चुनाव चिहृनसमेत फेर्नुपर्ने उहाँले प्रस्ताव गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच