एआईजी पोखरेलद्वारा राजीनामा, मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी

Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिनुभएको छ ।

महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षकका विषयमा परेका सबै रिट एकचौटि खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिनुभएको हो । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उहाँ सेवाबाट बिदा हुनु भएको थियो ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुग्नुभएको थियो । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?