काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिहीबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । सरकारले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दै संविधान दिवस मनायो । संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । यस्तै, बिहीबार साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्नुभएको थियो । जहाँ स्वदेश तथा विदेशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधान सभाबाट विस २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधानले एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना दिँदै पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्य सत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षासमेत गर्नुभएको छ ।
संविधान समयानुकूल बनाउनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्नसक्ने भन्दै यसका लागि सबै दलहरूबीच सहमतिको अधिकतम प्रयास गरिने बताउनुभएको हो । संविधानको संशोधन भनेको लिखत र मर्मअनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सह-अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको धारणा राख्नुभयो ।
संविधानले सबैको हक अधिकार सुनिश्चित गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै सबैको हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । संविधान दिवसका अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै उहाँले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधान सभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । उहाँले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प जरुरी रहेको सभापति देउवाको भनाइ छ ।
जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिष्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताउनुभयो । सबै प्रकारका अराजकता र निरंकुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।
मधेश सरकारले पहिलोपटक मनायो संविधान दिवस
मधेश प्रदेश सरकारले संविधान जारी भएको नौ वर्षपछि औपचारिक रूपमा पहिलोपटक संविधान दिवस मनाएको छ । सरकारी कार्यालयहरूले विगतका वर्षहरूमा सविधान दिवस मनाए पनि यस वर्ष मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरमा संविधान दिवस मनाएको हो । प्रमुख अतिथिको रूपमा सहभागी मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा भएका त्रुटिहरूलाई संशोधन गरेर समानुपातिक र समावेशी संविधान बनाउनपर्नेमा जोड दिनुभयो । ‘संविधानमा यदि केही त्रुटि छन् भने मापदण्ड बनाएर ती त्रुटिहरू सच्याउनुपर्यो । समावेशिताको पूर्ण पालना हुनुपर्यो,’ उहाँले भन्नुभयो । संविधान दिवसको अवसरमा सभामुख रामचन्द्र मण्डलले विभिन्न आन्दोलन र शाहदत्तबाट प्राप्त संविधानलाई सम्मान गर्नुपर्छ भन्दै कालो दिवस मनाउनु मुखर्ता रहेको बताउनुभयो । गृहमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा देशभक्ति गीत संगतिका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरिएको थियो ।
दरबार मार्गमा नेसनल डे कन्सर्ट
संविधान दिवसको अवसरमा काठमाडौंको दरबार मार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । कन्सर्टमा सहभागी हुन उल्लेख्य संख्यामा दर्शकको भिड लागेको थियो । बृहत् नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न कलाकारहरूको प्रस्तुति दिएका थिए । कन्सर्टमा सहभागी हुन सरकारले आग्रह गरेको थियो । दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका थिए । कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाएको आयोजकले जनाएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका ब्याण्डहरूले प्रस्तुति दिएका थिए ।
असन्तुष्टि व्यक्त
बिहीबार देशले संविधान दिवस उत्सवका साथ मनाइरहँदा देशका विभिन्न क्षेत्रमा असन्तुष्टि व्यक्त गरिएको छ । मधेसको अधिकांश समुदाय सामाजिक सञ्जालमा ‘कालो दिन’ भन्दै आक्रोश पोखिरहेका थिए । देशमा कतै खुसी व्यक्त गरिरहिएको थियो भने कतै दुःख व्यक्त गरिएको थियो । मधेशवादी दल र अन्य केहीले संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
संसद् भवन अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारी नियन्त्रणमा
काठमाडौंको बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो संसद् भवन गेट अगाडिबाट सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको बताएको छ । यस्तै, दरबार मार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले कुटपिट गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समूहले ‘बालेन ∕ बालेन ∕’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच