इंग्ल्यान्ड युरो च्याम्पियनसिपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्विडेनलाई ४-० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । मंगलबार राती भएको खेलमा इंग्ल्यान्डका लागि बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले एक-एक गोल गर्नुभयो । पहिलो हाफमा १-० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

खेलको ३४औँ मिनेटमा बथ मिडले लुसी ब्रन्जको पासमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउनुभयो । ४८औँ मिनेटमा लुसी ब्रन्जले बथ मिडको पासमा दोस्रो गोल गर्नुभयो । ६८औँ मिनेटमा एलेसिया रुसोले, ७६औँ मिनेटमा फ्रान किर्वीले बथ मिडकै पासमा गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाउनुभयो ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौँ संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्विडेनसँग टाइब्रेकरमा ४-३ ले तथा २००९ मा जर्मनीसँग ६-२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो । अब इंग्ल्यान्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्को खेलमा युरोपेली च्याम्पियन रियल म्याड्रिड प्रि-सिजनको मैत्रीपूर्ण खेलमा मेक्सिकन टोली क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ । रियल म्याड्रिड २-२ को बराबरीमा रोकिँदा करीम बेन्जेमा र इडेन हाजार्डले १-१ गोल गर्नुभयो ।

खेलको पाँचौँ मिनेटमा हेनरी मार्टिनले क्लब अमेरिकालाई अघि बढाउनुभएको थियो । रियलले २२औँ मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । दोस्रो हाफमा रियलले हाजार्डको गोलमा अग्रता लियो । तर, खेलको १० मिनेट बाँकी हुँदा क्लब अमेरिकाका अल्भारो फिदाल्गोले पेनाल्टीमार्फत् बराबरी गोल फर्काउनुभयो ।

रियलको प्रि-सिजनमा यो दोस्रो खेल थियो । पहिलो खेलमा बार्सिलोनासँग १-० को हार बेहोरेको टोलीले दोस्रो खेलमा पनि जित हासिल गर्न सकेन । रियलले अब अमेरिका भ्रमणको अन्तिम खेल ३० जुलाईमा युभेन्ट्ससँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?