रुपन्देही । बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ ।
ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभएकाे हाे । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गोलपार्क,हस्पिटल लाइन,राजमार्ग चौराह, योगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराउनुभयाे ।
उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भीडभाड हुने कालिकानगरस्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताउनु भयो । सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउँदै उहाँले दोस्रो चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्नुभयो ।
बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उद्देश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको भन्दै उहाँले राजमार्ग चौराह-गोलपार्क-चिडियाखोला-चिडियाखोला सडक बिस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनु भयो । बुटवलको कालिका चोक, मिलनचोकलगायतका ठाउँमा धेरै दुर्घटनाहरू हुने गरेको भन्दै उहाँले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
उपमहानगरपालिकाको वार्षिक योजनाअनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच