मन्त्रिपरिषद् निर्णय : जयपृथ्वीबहादुर राष्ट्रिय विभूति घोषित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरूप सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको हो ।

यस्तै, सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले योसहित विभिन्न सात निर्णय गरेको छ । सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि गरिएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको बताउनुभएको हो ।

यस्तै, नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ । प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि जानकारी गराउनुभयो । त्यसैगरी, रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?