च्याउमा आत्मनिर्भर बन्यो झापा

हिमालय टाइम्स
Read Time = 7 mins

झापा । कनकाई नगरपालिका-६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा बेचेरै वार्षिक छ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ ।

एघार वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उहाँले च्याउखेती सुरु गर्नुभएको थियो । एउटा टहरामा चार सय ५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उहाँमा च्याउखेतीप्रतिको उत्साह बढ्यो । थप डेढ बिघा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गर्नुभयो । उहाँले हाल १० टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहनुभएको छ ।

दधिरामजस्तै झापाका दुई दर्जनभन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । यसका कारण पछिल्लो समय झापा च्याउमा आत्मनिर्भर भएको छ । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ-गाउँमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ । जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।

जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ । विगतमा भारतबाट च्याउको विजन ल्याएर खेती गर्दैै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् । जिल्लामा करिब २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेती सुरुआत गर्नुभएको थियो । उहाँले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए ।

‘थोरै लगानी अनि अलि बढी मेहेनत गर्दा हुँदोरहेछ’, च्याउ किसान दधिराम किसान न्यौपानेले भन्नुभयो, ‘बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ । खुसी र सन्तुष्ट छु च्याउखेतीबाट ।’ कन्ये र मिल्की ह्वाइट जातको च्याउखेती गर्दै आउनुभएको न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ विर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी रु एक सय ६० र मिल्की ह्वाइट रु तीन सयमा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८/७९ मा १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ । जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बीउ उत्पादन गर्दै आएको पाथीभराले १२ साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीे एक वर्षमा १८ किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिनुभयो । उहाँले युवा लक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई ८७ हजार, रीता च्याउ उद्योग दमकलाई ८४ हजार छ सय ८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई ८५ हजार दुई सय, शान्ति च्याउ उद्योग गौरादहलाई एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई एक लाख अनुदान उपलब्ध गराइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारको समस्या नहुने, घरबाटै बिक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण पछिल्लो समय बढ्दै गएको छ ।’ प्रोटिनयुक्त च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने गरेको छ । एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले चयाउखेती रोज्ने गरेका छन् ।

जिल्लाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ । पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक २७ हजारको च्याउ बीउ उत्पादन गर्दै आएको बताउनुभयो । उद्योगको ल्याबमा दुई प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

च्याउखेतीको महत्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौवटै अमिनो एसिड पाइन्छ । चिकित्सकका अनुसार च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ भने यसमा माछा, मासुभन्दा बढी पौष्टिकता पाइन्छ ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?