भूकम्प पीडितलाई राहत

हिमालय टाइम्स
Read Time = 4 mins

-चिसाङ शेर्पा

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले भूकम्पबाट पूर्ण क्षति बेहोरेका परिवारलाई राहत वितरण गरेको छ । १५ साउनमा साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु भई आएको ६ म्याग्निच्युडको भूकम्पबाट पीडित १४ परिवारलाई राहत वितरण गरिएको हो । गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेश राईको अध्यक्षतामा भूकम्पबाट घरमा पूर्ण क्षति पुगेकालाई राहत वितरण गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिनुभयो ।

वजिमयका अनुसार साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका डम्बरबहादुर विक, अम्मर खत्री, डिल्लीराम राई, राजन बस्नेत, धनराज (लोकबहादुर) गुरुङ, केदार गुरुङ, साकेला गाउँपालिका–२ रतन्छाका सुक्री राई, रामकुमार राई, साकेला गाउँपालिका-३ खिदिमाका अनिल राई, हर्कबहादुर दमाई, साकेला गाउँपालिका–४ मात्तिमका खगेन्द्र खड्का, भविन्द्र परियार तथा साकेला गाउँपालिका-५ मात्तिमविर्ताका सितादेवी राई र धनकुमार राईलाई राहत वितरण गरिएको छ ।

पीडित प्रतिपरिवारलाई त्रिपाल एक थान, कम्बल दुई थान, भाँडा सेट एक सेट, बाल्टिन एक थान, साडी एक थान र कपडा आठ मिटर हस्तान्तरण गरिएको छ । भूकम्पबाट क्षति बेहोरेकाहरूलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई, रेडक्रसका सभापति ज्ञानेन्द्र जोशी, रेडक्रसका मन्त्री वजिमय, पाँचै वडाका वडाध्यक्ष तथा कार्यवाहक वडाध्यक्ष, इलाका प्रहरी कार्यालयका सईलगायतले राहत सामग्री वितरण गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले भूकम्पका कारण आफ्नो गाउँपालिकामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । राईले भूकम्पबाट प्रभावितहरूको थप पहिचानका लागि केन्द्रबाट साकेला गाउँपालिकामा परिचालित प्राविधिक टोलीलाई प्रत्येक गाउँ तथा टोलहरूमा जान आग्रह गर्नुभयो ।

भूकम्प प्रभावित घरपरिवारलाई थप राहत उपलब्धताका लागि माथिल्लो निकायसँग समेत गम्भीरतापूर्वक छलफल गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाउनुभएको छ । भूकम्पबाट प्रभावित साकेलावासी नागरिकका लागि थप राहत उपलब्ध गराउन सम्पूर्ण निकायहरूसँग समन्वय गर्ने रेडक्रस सभापति जोशीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?