संघीय निर्वाचन : ८४ दलले दिए दर्ताका लागि आयोगमा निवेदन, आजबाट रुजु सुरु गर्छौं : प्रवक्ता पौडेल

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा राजनीतिक दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम आयोगले दर्ता आव्हान गरेको अवधिमा ८४ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगले राजनीतिक दललाई संविधानको धारा २७१ बमोजिम साउन २२ गतेदेखि २०७९ साल साउन ३१ गतेसम्म दल दर्ता आव्हान गरेको थियो ।

त्यसअनुसार मंगलबार अन्तिम समयसम्म ८४ वटा दलले दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दल दर्ताका लागि निवेदन दिएका दलहरूको बुधबारबाट रुजु सुरु हुनेछ । दलहरूले दिएका निवेदनउपर आयोगले जाँच गरी निर्वाचनमा भाग लिन योग्य भएको ठहर गर्नेछ । दल दर्ताको निवेदन दिएका सबै दलहरूको जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षणपछि दर्ताका लागि आयोगमा पेश गर्ने काम सुरु हुने उहाँले बताउनुभयो । आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने उहाँको भनाइ छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

माओवादी र नेसपाद्वारा एकल चुनाव चिन्हका लागि निवेदन
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले एकल चिन्हमा चुनाव लड्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । दुई पार्टीका नेताहरूले मंगलबार निर्वाचन आयोग पुगेर एकल चिन्हमा चुनाव लड्न निवेदन दिएका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्ने भएको छ । त्यसैगरी, वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा चुनाव लड्नका लागि निवेदन दिएको छ ।

यसअघि माओवादी केन्द्रले एकल दल दर्ताका लागि निवेदन दिएको थियो । अब पछिल्लो निवेदनअनुसार आयोगले प्रक्रिया अघि बढाउने छ । थप केही दलले पनि एकल चिन्हमा चुनाव लड्न निवेदन दिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा बढी दलहरूले मोर्चाबन्दी गरेर एउटा निर्वाचन चिन्हबाट प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम तीन दलले एकल चुनाव चिन्हमा निर्वाचन लड्न आयोगमा निवेदन दिएका हुन् ।

संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गरे पनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने प्रवक्ता पौडेलले बताउनुभयो । उहाँले पार्टीमा सदस्य फरक-फरक भए पनि संसदीय दल भने एउटै रहने बताउनुभयो । उहाँले संसदीय दलको ह्वीप यदि मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसको केन्द्रीय समितिमा ३३ प्रतिशत पुर्‍याउन १० महिला मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य मनोनीत गर्नुभएको छ । केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला पु¥याउन एकैपटक १० जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । पार्टी विधानको धारा २१ (१०) बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय सदस्यमा मनोनीत गरिएका महिला नेतृमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) हुनुहुन्छ । यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । अब थप १० जना मनोनीत गर्ने सुविधा सभापति देउवासँग छ । गत मंसिरमा भएको १४औँ महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

निर्वाचन आयोगमा दल दर्ता गर्दा संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याएर कांग्रेसले मंगलबार नै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?