पाँच दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि हुँदैन : डा. रावल

Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नाग्ीरकलाई नागरिकता दिनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो ।

उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ । कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो । वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ नेपालको राष्ट्रिय हीतमा छैन र ? नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्नपनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता ? कसैले भन्नसक्छ ? सकिँदैन । ७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो । आज सहमतिबाट पछि हटेर काम गर्ने ? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधान भन्दा माथि हुन्छ ? यदी त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन ? यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन ।’

सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?