राजस्व छलीमा १७ करोड बिगो दाबीसहित मुद्दा

Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले अन्तरा इन्टरनेसनलका प्रोप्राइटरसहित दुईजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिका-४ स्थायी ठेगाना भएका अन्तरा इन्टरनेसनलका लेखापरीक्षक गणेशबहादुर केसी र सोही कम्पनीका लेखापरीक्षक धनुषा लक्ष्मीनियाँ गाउँपालिका-६ का श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरू दुवैजनाले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर (भ्याट) बिल खरिद गरी वित्तीय विवरण तयार गरेर राजस्व चुहावट गरेको विभागको आरोप छ ।

केसी र यादवले भ्याट करतर्फ दुई करोड ५० लाख ४५ हजार तीन सय ११ रुपैयाँ र आयकरतर्फ छ करोड तीन लाख ३२ हजार दुई सय ४३ रुपैयाँसहित आठ करोड ५३ लाख ७७ हजार पाँच सय ५४ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । उक्त रकमको बिगोसहित १७ करोड सात लाख ५५ हजार एक सय आठ रुपैयाँ र कैदसमेत माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै विभागले अवैधरूपमा विदेशी विनिमय कारोबारको आरोपमा पनि पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ । भारतीय आधारकार्ड भएका समिर खान, नवलपरासीका योगेन्द्र यादव, कृष्णप्रसाद काफ्ले, ईश्वरीप्रसाद रेग्मी र रमेश कलवारविरुद्ध मुद्दा दायर गरेको हो । पाँचैजनाविरुद्ध ३२ लाख ९२ हजार तीन सय ५० रुपैयाँ बिगो दाबीसहित नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?