बर्दहवा-तिलकपुर सडक स्तरोन्नति नहुँदा सास्ती

हिमालय टाइम्स
Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । कोहलपुर नगरपालिकाका दुईवटा वडा र बैजनाथ गाउँपालिकाको एउटा वडा छुने सडकखण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । लामो समयदेखि कच्ची सडकका कारण दुई पालिकाका नागरिकले स्थानीयले सास्ती भोगिरहेका हुन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुर-११ स्थित सशस्त्र क्याम्प हुँदै वडा नम्बर २ भएर बैजनाथ गाउँपालिका वडा नम्बर ३ तिलकपुर जोड्ने सडक दुरावस्था हुँदा पनि स्तरोन्नतिका लागि स्थानीय सरकारहरूले चासो देखाएका छैनन् । कोहलपुर-११ स्थित सशस्त्र क्याम्प, लक्ष्मी मावि बर्दहवा हुँदै बैजनाथ-४ को तिलकपुर बस्ती जोड्ने सडक जीर्ण अवस्थामा रहेको छ । सडकका विभिन्न स्थानमा रहेका दर्जनौँ खाल्डाखुल्डीका कारण राम्रोसँग हिँड्डुल गर्न तथा साना सवारीसाधन चलाउनसमेत अप्ठ्यारो हुने गरेको छ ।

सडकका दर्जनौँ स्थानमा खाल्डाखुल्डी रहेका छन् । वर्षाको बेला हिलो र सुक्खा समयमा धुलोले त्यहाँका नागरिकले सास्ती भोगिरहेका छन् । विद्यालय क्षेत्रका साथै विभिन्न बस्ती जोड्ने सडकसमेत रहेकाले उक्त सडकमा धेरै नागरिकको दैनिक आवतजावत हुने गर्दछ । स्थानीय इसा सुनार भन्नुहुन्छ, ‘मेरो परिवार यहाँ बस्न थालेको वर्षौं भइसक्यो । हामी आउँदा पनि यो सडकको अवस्था यस्तै थियो । अहिले पनि उस्तै छ ।’

उहाँले सडकको स्तरोन्नतिका लागि वडा सरकारले चासो नदिएको बताउनुभयो । सुनारको जस्तै गुनासो पानसरी बुढाको समेत रहेको छ । लक्ष्मी मावि बर्दहवा विद्यालय नजिकैको बस्तीमा बसोबास गर्दै आएकी उहाँले खाल्डाखुल्डी भएका सडकका कारण हिँड्डुलमा समस्या हुने गरेको बताउनुभयो । उक्त सडक क्षेत्रमा विभिन्न समयमा साना सवारी दुर्घटनामा समेत पर्ने गरेका छन् । यस्तै, बैजनाथ–४ स्थित तिलकपुरकी सीता बुढामगर पनि कच्ची सडकका कारण साइकलसमेत चलाउन नसक्ने अवस्था रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पानी पर्नै हुँदैन । बाटो हिलो भइहाल्छ । राम्ररी हिँड्नसमेत मिल्दैन । धेरै सास्ती भोग्नु परेको छ ।’

उक्त सडकखण्डमा स्तरोन्नति र ग्राभेलको तयारी वडाले गरिरहेको वडाध्यक्ष हरि कठायतले बताउनुभयो । उहाँका अनुसार वर्षाको समयमा स्कुल बस र स्थानीयलाई परेको समस्यालाई मध्यनजर गरेर वडाले तत्काल खाल्डाखुल्डी पुर्ने काम सुरु गरिसकेको छ । केही दिनमै खाल्डाखुल्डी पुर्ने काम हुने उहाँको भनाइ छ । यस्तै, उक्त सडक ग्राभेल गर्नको लागि ठेक्का आ≈वान भइसकेको कठायतले बताउनुभयो । ग्राभेलको ठेक्का अमृत कन्ट्रक्सनले लिएको छ । कन्ट्रक्सनले काम सुरु गर्ने उहाँले बताउनुभयो ।

यस्तै, बैजनाथ गाउँपालिका-४ का अध्यक्ष प्रेमबहादुर शाही चालु आर्थिक वर्षभित्र उक्त सडकखण्ड ग्राभेल हुने बताउनुहुन्छ । उहाँका अनुसार उक्त सडकखण्ड ग्राभेल गर्नको लागि वडा बजेटको मर्मत शीर्षकबाट चालु आर्थिक वर्षमा काम सम्पन्न हुन्छ । उहाँले भन्नुभयो, यही सडकको लागि म पहिला दुईपटक डेलिगेसन गएको थिएँ । अहिले म वडामा आएको छु । मेरो प्राथमिकतामा तिलकपुरको सडक छ ।’ कुल ९५ लाख रुपैयाँ लागतमा ग्राभेल सम्पन्न हुने वडा नम्बर २ को कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?