नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चिन्ता, एक चीन नीतिप्रति नेपालका राजनीतिक नेतृत्वको बलियो प्रतिबद्धता

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले मंगलबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नुभएको छ । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राजनीतिक दलका शीर्ष नेतृत्वसँग नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चिन्ता व्यक्त गर्नुभएको छ । एक चीन नीतिमा बलियो प्रतिबद्धता खोज्नुभएका अध्यक्ष लीले अमेरिकी सहयोग परियोजना एमसिसी र एसपिपीबारे पनि चासो राख्नुभएको छ । चान्सुले चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनको पनि प्रतिबद्धता खोज्नुभएको छ । एमाले र माओवादी केन्द्रका नेताहरूसँगको छुट्टाछुट्टै छलफलमा लीले एक चीन नीति, बिआरआई कार्यान्वयन र अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदनपछि अमेरिकाको सक्रियताबारे चासो राखेको दुवै दलका नेताहरूले जानकारी दिनुभएको छ । लीसँगको भेटवार्तापछि सहभागी नेकपा एमालेका एक पदाधिकारीले भन्नुभयो, ‘नेपाल र चीनको सम्बन्ध बलियो बनाउने र कसैको दबाब र प्रभावमा सम्बन्धमा असर नपुर्‍याउने विषयमा छलफल भयो । एक चीन नीतिमा हाम्रो दलको प्रतिबद्धता अध्यक्षले सुनाउनुभयो ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तामा लीले नेपालमा चीन विरोधी गतिविधि बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको जानकारी दिँदै नेता हरिबोल गजुरेलले भन्नुभयो, ‘चीनको सुरक्षा संवेदनशीलताका बारेमा हामी सजग छौँ । नेपालको भूमिबाट चिनियाँविरोधी गतिविधि हुन दिने छैनौँ । एक चीन नीतिप्रति आफ्नो दलको प्रतिबद्धता जनाएका छौँ ।’

नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुसँग मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै एक चीन नीतिप्रतिको प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौँ ।’
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लीले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रूपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो । भेटवार्तामा अध्यक्ष लीले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको समेत स्मरण गर्नुभएको थियो ।

रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एंव पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँग नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेका छौँ, यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका छौँ ।’

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले अगामी अक्टोबरमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २० औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना दिनुभएको छ । भेटवार्तामा लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान-प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कामय कायम गर्ने बताउनुभएको छ ।

नेपालमा चीनले ठूलो लगानी बढाइदिओस् : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई मुलुकबीच बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखी नेपालमा चीनले ठूलो लगानी बढाइदिओस् भन्ने चाहना रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधिमण्डल भेटवार्ताका क्रममा अध्यक्ष दाहालले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई राष्ट्रपति सी चिनफिङको भ्रमणले थप उचाइमा पुर्‍याएको बताउनुभएको थियो । चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत राणनीतिक साझेदारी गरेको र उक्त साझेदारी नेपालको विकास र समृद्धिमा चीन सरकारले सहयोग गर्नुपर्ने बताउँदै लीसंगको भेटवार्तामा अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल–चीनबीच जुन रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनु पर्‍यो ।’

जवाफमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिमा सधैं सहयोग गर्ने वाचा गर्नुभएको छ । नेपालले आफ्नो प्राथमिकता आफैँ निर्धारण गर्नुपर्ने बताउँदै लीले भन्नुभयो, ‘हामी माक्र्सवादीहरू हौँ । विश्वमा हाम्रो एउटै भावनात्मक सम्बन्ध रहेको छ ।’ अध्यक्ष दाहालले नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणको कार्यक्रम छिटोछिटो गर्नको लागि पनि आग्रह गर्नुभयो ।

नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै दाहालले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको र नेपाली भूमि कुनै पनि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताउनुभयो ।

दशैँअघि नाका खोल्न अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबीचको रसुवागढी र तातोपानी नाका दशैँअघि नै खुलाउन आग्रह गरेका गर्नुभएको छ । कोभिड-१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरूको करोडौँ रकमका सामग्रीहरू बाटोमै अलपत्र परेका छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बानेश्वरस्थित संसद् भवनमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलबीच भेटवार्ताका क्रममा नाकाहरू छिटो खुलाउनको लागि चिनियाँ पक्षलाई आग्रह गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । जवाफमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आफूले नाकाहरू छिट्टै खुलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले वेल्ट एण्ड रोड इनिसियभिटसँगै बहुपक्षीय सोझदारी र संसदीय साझेदारीमा जोड दिनुका साथै एक चीन नीतिमा प्रतिबद्धता जनाउनुभएको थियो ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ । राजधानीको होटल सोल्टीमा भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुक बीचका आपसी चासोको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेट्ने कार्यक्रम छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा ली नेपाल आउनुभएको हो । अध्यक्ष लीको सम्मानमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो । त्यसअघि नेपालको संघीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेसनल पिपुल्स कंग्रेस)बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सभामुख सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रुस, मंगोलिया हुँदै नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र सीपीसीको तेस्रो वरीयतामा पर्नुहुन्छ । चीनका राष्ट्रपति सीले २०७६ असोज २५-२६ मा गरेको राजकीय भ्रमणपछि लीबाट दोस्रो ठूलो उच्च तहको भ्रमण भएको हो । सी २३ वर्षपछि नेपाल भ्रमण गर्ने चीनका राष्ट्रपति हुनुहुन्छ । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली नेपालको भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

चिनियाँ भिआइपीको भ्रमणले यातायात अस्तव्यस्त
नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा दिनभरि सार्वजनिक सवारी व्यवस्था अस्तव्यस्त भएको छ । बिहान पौने ९ बजेदेखि सवारी आवागमन प्रभावित भएको थियो । चिनियाँ भीआईपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित भएको भन्दै भन्दै महानगरीय ट्राफिक महाशाखाले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको थियो । लीले प्रयोग गर्ने रुटमा सार्वजनिक बस चलाउन रोक लगाइएको थियो । बिहान पौने ९ बजे आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँबानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।

साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित भयो । दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनपुग्यो । मंगलबार दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित प्रभावित भएको थियो । दिनभर अस्तव्यस्त बनेको सार्वजनिक सवारी साधनको असर मंगलबार राति अबेरसम्म पनि परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?