आजबाट यमपञ्चक सुरु, आज धनतेरस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार आज (शनिबार)देखि शुभारम्भ भएको छ । आजदेखि यमपञ्चक सुरु भएको हो । आज धन त्रयोदशी व्रत (धनतेरस)/यमपञ्चक आरम्भ/शनि प्रदोष व्रत रहेको छ ।

आजदेखि यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी धनतेरस पर्व पनि आजैका दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनुभएको छ ।

यस्तै, कात्तिक ६ गते आइतबार काग तिहार काकबली पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । यस्तै, कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । त्यसैदिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको ढुंगेलले जानकारी गराउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा रहेको छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।

कात्तिक १० गते बिहीबार भाइटीका रहेको छ । यसदिन भाइटीकाको साइत बिहान ११ः३७ मा रहेको छ । उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । तर, यसदिन दिनभर नै उत्तम साइत रहेको समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?