आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः अध्यक्ष ओली

फाईल फाेटाे

Read Time = 4 mins

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताउनुभएको छ ।

बुुधवार काठमाडौं-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताउनु भयो । उहाँले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम कदाचित यिनै मान्छेहरु, यिनीहरु अहिले जनताले छानेका होइनन्, संसदले छानेको होइन, यी परमादेश लिए जाली कीर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली,कीर्तेहरुले जित्ने हो नि । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसदको कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसदको के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिन यता अदालत बेहाल अवस्थामा छ ।’

अध्यक्ष ओलीले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिनुभयो । उहाँले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताउनु भयो ।

उहाँले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायीत्व कायम गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले अफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र काठमाडौंमा पुनः निर्माण गरिएको धरहराले आफ्ना बिरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गर्नुभयो । उहाँले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?