राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्यः अध्यक्ष दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताउनुभएको हो । अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताउनु भयो ।

उहाँले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताउनु भयो । उहाँले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताउनु भयो ।

उहाँले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताउनु भयो । उहाँले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भुमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताउनु भयो । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रुपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भुमिका छ । जुन दूरगारी रणनैतिक भुमिका छ । त्यो भुमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु की सक्दिन भन्ने चुनौती जस्तो मलाई महशुस भइराख्छ । गोरखाली जनताको अपेक्षामा म खरो उत्रिन सक्छु की सक्दिन भन्ने चुनौती ठानेको छु । गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकतावद्ध गराउने अवसरको रुपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रुपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु । यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्नसकेँ वा हामी सबै मिलेर सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रुपमा नलिदिनुहोला । नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने की ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाईं हो । नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउननुछ । अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य शर्त छ । यदी हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन सकेनौँ, आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगो पनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका शुरु गर्नुपर्छ ।’

अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरु एकत्रित भएर काम गर्न आवश्यक रहेको बताउनु यो । उहाँले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्नेकुरा सावित गर्न सक्नुपर्ने बताउनु भयो । अध्यक्ष दाहालले आगामी चुनावमा अभुतपूर्व रुपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?