म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने

Read Time = 8 mins

यांगुुन । म्यान्मारको सेनाले बेलायतका पूर्वराजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ । सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णयानुसार राष्ट्रिय दिवसका अवसरमा रिहाइ गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीनवटा बसमा राखी जेलबाट बाहिर पठाइएको एएफपीका म्यानमार संवाददाताले बताए ।
गतवर्ष सेनाले गरेको ‘कू’ र असहमतिमाथिको रक्तपातपूर्ण दमनका कारण दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार अशान्त बनेको छ र यस अवधिमा हजारौंलाई जेल सजाय सुनाइएको छ ।

बेलायतका पूर्वराजदूत विक्की बोमन, अष्ट्रेलियाका आर्थिक सल्लाहकार सिन टर्नेल र जापानी पत्रकार तोरु कुबोतालाई राष्ट्रिय दिवसका अवसरमा रिहा गरिने एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

जुन्ता प्रशासनले तीनैजनालाई सुपुर्दगी गरिने बताएको छ तर यसका लागि मिति भने नतोकिएको बताएको छ । यांगुनको इन्सेन जेलबाहिर प्रियजन रिहा हुने आशामा करिब दुई सयजना मानिस भेला भएका एएफपीका संवाददाताले बताएका छन् ।

प्रतिशोधको डरले आफ्नो नाम बताउन नचाहेकी एउटी महिलाले सेनाविरुद्ध असहमति जनाउन उक्साएको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका आफ्ना पतिलाई पर्खिरहेको बताइन् । ‘यसअघि उनी युएसडीपी (सैन्य समर्थित राजनीतिक दल) समर्थक थिए । ‘कू’ पछि उनी प्रदर्शनमा सामेल भएका थिए । मलाई उनीप्रति गर्व छ’, उनले भनिन् ।

जुन्ताका अधिकारीले करिब सात सय महिलाको पहिलेको आँकडालाई पुनरवलोकन गर्दै लगभग ६ सय महिलासहित कुल पाँच हजार ७७४ कैदीलाई रिहा गरिने पुष्टि गरेका छन् । जुन्ताले आममाफीको घोषणा गर्ने आफ्नो वक्तव्यमा असहमतिमाथि सेनाको दमनका क्रममा क्षमादान गरिएकामध्ये कतिजना पक्राउ परेका थिए भन्ने विषयमा केही बताएको छैन ।

सन् २००२ देखि २००६ सम्म राजदूतको रूपमा काम गर्नुभएकी बोमनलाई आफ्नो विदेशी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठेगानामा बसिरहेको तर जानकारी नगराएको भन्दै अगस्टमा उहाँका पतिसहित हिरासतमा लिइएको थियो । उनीहरूलाई पछि एक वर्षको जेल सजाय सुनाइएको थियो । उनका पति म्यान्मारका चर्चित कलाकार हटेन लिनलाई पनि रिहा गरिने सैनिक अधिकारीले बताएका छन् ।

बेलायती कूटनीतिक स्रोतका अनुसार बोमनलाई अहिलेसम्म रिहा गरिएको छैन तर उनलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जुन्ताको बयानमा उनका पतिलाई देशनिकाला गर्ने सूचीमा समावेश गरिएको छैन ।

म्यान्मार र उसको पूर्वऔपनिवेशिक शासक बेलायतबीचको सम्बन्धमा सेनाको कब्जापछि तिक्तता आएको छ र यस वर्ष जुन्ताले बेलायतले त्यहाँ आफ्नो मिसनलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेको छ । सन् २०२१ को फेब्रुवरीमा भएको ‘कू’ पछि पक्राउ पर्नुभएका टर्नेल म्यान्मारकी नागरिक नेत्री आङ सान सुकीका सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ र सुकीलाई गत सेप्टेम्बरमा जुन्ताको अदालतले आधिकारिक गोपनीयता ऐन उल्लंघन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन–तीन वर्षको जेल सजाय सुनाएको थियो । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले ट्वीटरमा लेख्नुभएको छ, ‘हामी प्रोफेसर सिन टर्नेलसँग सम्बन्धित रिपोर्टको स्वागत गर्दछौं । प्रोफेसर टर्नेल हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, हामी यस चरणमा थप टिप्पणी गर्नेछैनौं ।’ २६ वर्षीय कुबोतालाई गत जुलाईमा यांगुनमा सरकारविरोधी ¥यालीबाट म्यान्मारका दुई नागरिकसहित पक्राउ गरी १० वर्षको जेल सजाय सुनाइएको थियो ।

म्यान्मारस्थित जापानी दूतावासका एक स्रोतले एएफपीलाई बताएअनुसार कुबोतालाई जुन्ता अधिकारीहरूले बिहीबार रिहा गर्ने जानकारी गराएको छ । कुबोता जापान प्रस्थान गर्ने बताइएको छ । अमेरिकी नागरिक नाथन माउङ र ड्यानी फेन्स्टर, पोल्याण्डका रोबर्ट बोसियागा र जापानका युकी किताजुमीपछि म्यानमारमा पक्राउ पर्ने कुबोता पाँचौं विदेशी पत्रकार हुनुहुन्छ । युनेस्कोका अनुसार विद्रोहपछि कम्तीमा १७० जना पत्रकारलाई पक्राउ गरिएको छ भने करिब ७० जना अझै हिरासतमा छन् ।

उहाँप्रति निकै गर्व छ
सान सान आईले आफू आफ्ना भाइबहिनीको रिहाइको पर्खाइमा रहेको बताउनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो, ‘तीमध्ये तीनजनालाई आठ महिनाअघि तीन–तीन वर्ष जेल सजाय सुनाइएको थियो ।’

‘उनीहरूका छोराछोरी घरमा पर्खिरहेका छन् । उनीहरू रिहा भए भने हामी धेरै खुसी हुनेछौं ।’ स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनले एएफपीसँग भन्नुभयो, ‘प्रोफेसर टर्नेलको रिहाइ शासकद्वारा बन्धक बनाइएपछिको उल्लेखनीय समाचार हो र उहाँका परिवार र साथीहरू खुशी हुनेछन् ।’

यद्यपि उहाँले जुन्ताले सुधारको कुनै संकेत नदेखाएको र आममाफीले उनीहरूलाई ‘कू’ पछि भएका अत्याचारबाट मुक्त गर्न नसक्ने बताउनुभएको छ । एम्नेस्टीको क्षेत्रीय कार्यालयका प्रवक्ताले भने, ‘म्यान्मारमा भएको ‘कू’ पछि जेलमा रहेका हजारौं मानिसले केही पनि गलत गरेका छैनन् । सुकीको अपदस्थ सरकारका तीनजना पूर्वमन्त्री र हिरासतमा रहेका अमेरिकी मूलका म्यान्मारका नागरिक क्याउ हटे ओलाई पनि रिहा गरिने जुन्ताका अधिकारीले बताएका छन् ।

म्यान्मारको एक निगरानी समूहका अनुसार सुकीको सरकारलाई सत्ताच्युत गरेपछि असहमतिमाथि सेनाले गरेको दमनपछि दुई हजार तीन सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । जुन्ताले करिब तीन हजार ९ सय सर्वसाधारणको मृत्युका लागि ‘कू’ विरोधी लडाकुलाई जिम्मेवार ठह¥याएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?