‘नेपाली खेलकुदको वृत्तान्त’ आउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असारको चौथो साता बजारमा आउने भएको छ । प्रकाशक क्रियटिभ बुक्सले आइतबार एक विज्ञप्ति निकाल्दै ‘नेपाली खेलकुदको वृत्तान्त’ नामक पुस्तक असारको चौथो साता बजारमा आउने जनाएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनसँगको सहकार्यमा खेल पत्रकार नवीन अर्यालद्वारा लिखित पुस्तक असार चौथो साता काठमाडौंमा सार्वजनिक गरिने प्रकाशकले जनाएको छ । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो ।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेलयात्राको वर्णन गरिएको छ । साथै, सीमित साधनस्रोतका बीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागतरूपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिबद्ध गरिएको छ ।

ऐतिहासिक तस्बिरहरू, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ । नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपूर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ । साथै, निकट भविष्यमै खेलकुदसम्बन्धी करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?