राष्ट्रपति निर्वाचनमा एमालेलाई एक्ल्याउने इतर दलहरूको रणनीति

आफ्नो अडानमा एमाले, माओवादी अनिर्णीत

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गए पनि दलहरूबीच सहमति हुन सकेको छैन । सत्तारूढ गठबन्धनमै पनि राष्ट्रपति कसलाई बनाउने भन्नेबारे मतभेद देखिएको छ । वर्तमान गठबन्धन निर्माण हुँदै भएको सहमतिबमोजिम राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने एमालेको अडान छ ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको एमालेको दाबी छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँदै आउनुभएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेको छ । यसले गठबन्धनभित्रै थप अविश्वास बढेको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनभित्रै अविश्वास बढिरहेका बेला इतर दलहरूले थप चिढ्याउने काम गरिरहेका छन् । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनलाई आधार बनाएर गठबन्धन भत्काउने प्रयत्न गरिरहेको छ । कांग्रेस नेताहरूले निरन्तर एमाले बाहेकको राष्ट्रपति हुनुपर्ने आवाज उठाइरहेका छन् । कांग्रेस मात्रै होइन एमाले बाहेकको राष्ट्रपति हुनुपर्नेमा नेकपा (एकीकृत समाजवादी)ले पनि कांग्रेसकै बोलीमा लोली मिलाइरहेको छ । उनीहरूले अनेक तवरले एमालेलाई चिढ्याउने काम गरिरहेका छन् ।

राष्ट्रपतिमा एमालेलाई एक्ल्याउन पर्दामा कांग्रेस र एकीकृत समाजवादी देखिए पनि पर्दा पछाडिबाट माओवादीले पनि मौन समर्थन जनाइरहेको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरिसक्दा पनि माओवादी अनिर्णीत छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकोले राष्ट्रपतिमा माओवादीको साथ मिल्ने कांग्रेसको विश्वास छ ।

‘रबर स्ट्याम्प’ राष्ट्रपतिको प्रतिवादमा उत्रिँदा ढोक्सा थापेको मानिन्छ भने कांग्रेस राम्रोसँग थाप्न तयार छ : पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा (एमाले)लाई ‘रबर स्ट्याम्प’ राष्ट्रपति चाहिएको टिप्पणी गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पौडेलले एमालेलाई आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको टिप्पणी गर्नुभयो । संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उहाँको भनाइ छ । संसद्मा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले ढोक्सा शब्द चर्चित बनाएको भन्दै कांग्रेसले ढोक्सा नथापेको उहाँले जिकिर गर्नुभयो । ‘राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘आवश्यकता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदा ढोक्सा थापेको भनेर मानिन्छ भने हामी राम्रोसँग थाप्न तयार छौँ ।’ उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली ‘सुपर प्रधानमन्त्री’ बन्न खोजेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको उहाँको आरोप छ । ‘संसद् विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ । विघटनको भोक र सनक नमेटिएको पाइयो । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ,’ उहाँले भन्नुभयो, ‘वास्तवमा संसद् विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको छ । म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन ।’

राष्ट्रपति पनि एमालेबाटै भए त देश बर्बाद हुन्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति नेकपा (एमाले)बाटै भए देश बर्बाद हुने दाबी गर्नुभएको छ । बुधबार पोखरामा आयोजिक पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सबै प्रमुख पद एमालेलाई दिए देश बर्बाद हुने दाबी गर्नुभएको हो । प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उहाँको धारणा छ । ‘सभामुख पनि एमाले, राष्ट्रियसभा अध्यक्ष पनि एमाले, राष्ट्रपति पनि एमालेबाटै भए त देश बर्बाद हुन्छ,’ अध्यक्ष नेपालले भन्नुभयो । राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उहाँले बताउनुभयो । पार्टी विचार र सिद्धान्त मिल्नेसँग सहकार्य र मोर्चा बनाएर जाने नेपालले बताउनुभयो ।

शक्ति राष्ट्रहरूबाट आफ्नो देश अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ : केसी
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा यसपटक प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बौल्दै सांसद केसीले यसअघि अप्रत्यक्षित रूपले खेले पनि यसपालि शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको आरोप लगाउनुभयो । यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उहाँको भनाइ छ । ‘नेपालमा अहिले राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले अप्रत्यक्ष रूपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रूपले नै आफ्नो देशको अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ ।’ केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । भारतको सामान्य कर्मचारी आउँदा पूर्व–प्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्र प्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताउनुभयो । ‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारीले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न मानिसहरूसँग भेटघाटको अभियान चलाउनुभयो,’ उहाँले भन्नुभयो, ‘नेपालबाट पूर्व–प्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैन । उहाँहरू निराश भएर फर्किनुपर्छ । तर, छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू लम्पसार परिरहेका छन् ।’ सांसद केसीले नेपालमा गणतन्त्रमाथि गणतन्त्र पक्षधरहरूबाट नै खतरा रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?