मेस्सीको अन्तिम खेलमा पिएसजीको हार

Read Time = 3 mins

पेरिस । लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीले खेल्नुभएको अन्तिम खेलमा हार बेहोरेको छ । मेस्सीले यसअघि नै क्लब छाड्ने घोषणा गरिसक्नुभएको थियो । उक्त खेलमा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३-२ ले पराजित भएको हो ।

क्लेरमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गर्नुभयो । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले एक/एक गोल फर्काउनुभयो । मेस्सीसँगै रामोसको पनि यो अन्तिम खेल हो । दुवै खेलाडीले यस सिजनपछि पिएसजीसँग सम्झौता नवीकरण नगर्ने जनाइसकेका छन् ।

१६औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाउनुभयो । २१औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो । २४औँ मिनेटमा जोहानले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ३७औँ मिनेटमा ग्रिजोन केयई पेनाल्टीमा चुक्दा क्लेरमन्टफर्ट बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्जुरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि ६३औँ मिनेटमा ग्रिजोन केयईले गोल गर्दै क्लेरमन्टफर्टलाई ३-२ को जित दिलाउनुभयो ।

यस हारका बाबजुद पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ । पिएसजीको ३८ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै लेन्सले ८४ अंक बटुल्यो । पिएसजीलाई हराएको क्लेरमन्टफर्ट ५९ अंक जोडेर आठौँ स्थानमा रहृयो ।

यता, इंग्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो । सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गर्नुभयो । युनाइटेडका बु्रनो फर्नान्डेसले एक गोल फर्काउनुभयो ।

३३औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २-१ ले विजयी गराउनुभयो । सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?