६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ ।

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो ।

यसका लागि आ–आफ्नो स्थानमा गएर संघर्षको मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिँदै उहाँले ६ महिनाभित्र आफूहरुको लक्ष्य प्राप्त हुने दाबी गर्नुभयो ।

काठमाडौंसहित देशका विभिन्न भाग सभाको आयोजना गर्ने भन्दै उहाँले यसलाई तेस्रो जनआन्दोलनमा रुपमा अगाडि बढाउने बताउनु भयो। यस आन्दोलनमा सबैलाई सहभागी हुन उहाँको अपील छ ।

बेलैमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभए पछि पछुताउनुपर्ने भन्दै उहाँले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिनुभयो ।

राजसंस्था पुनर्स्थापना गर्न आफूहरु सफल हुने र पार्टीको मुल एजेण्डा रहने भन्दै उहाँले यसका लागि आन्दोलन घोषणा गरिएको बताउनु भयो ।

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिक पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई आग्रह गर्नुभयो ।

जनता र राजा मिलेर देश बचाउनुपर्ने भन्दै घोषणा सभामा नारा लगाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?