जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी : वरिष्ठ उपाध्यक्ष पोखरेल

Read Time = 9 mins

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेपनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गर्नुभएको छ । मंगलवार पार्टीको केन्द्रिय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधरह एकजुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘यतिबेला तत्कालीन राजनीतिमा देखा परेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसावले माथि नै छौँ । एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ । हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरुले गरेका तमाम अपराधजन्य कुराहरुको सामना गर्नेछौँ ।’

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाउनु भयो । उहाँले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताउनु भयो । उहाँले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताउनु भयो ।महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखाप¥यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सीलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरु लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसहको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ । जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै हो । प्राविधिक रुपमा परिणामा हामी दोस्रो भयौँ होला, त्यो प्राविधिक विषय मात्रै हो । हामीसँग एक्लै मुकाबिला गर्नसक्ने आँट अहिले पनि कसैसँग छैन । त्यसअर्थमा जनमतका हिसावले नेकपा एमाले अहिले पनि पहिलो छ । आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै होइन, परिणामका हिसावले पहिलो पार्टी बनाउनेछौँ । कतिपयले के भन्ने गर्छन् भने परिणाम आएपछि नेकपा एमालेको आपत्ति भन्ने अर्थमा टिप्पणी गरेको हामीले पाएका छौँ । तर हामीले निरन्तर रुपमा जुन प्रकारले व्यवस्थापन गर्ने खालको काम भयो त्यसप्रति हाम्रा असहमतिहरु निरन्तर रुपमा राख्दै आएका थियौँ । खास गरेर एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा गरिए । संवेदनशील क्षेत्र भनेर जसलाई हामीले पहिचान गरेका थियौँ, ती ठाउँहरुमा सुरक्षा निकाय पनि परिवर्तन गरियो, कर्मचारी र यतिसम्मकी नेतृत्वकर्ता समेत परिवर्तन गर्ने खालका कामहरु भए । अर्को कुरा निर्वाचनको अवधिमा भयरहीत तवरबाट चुनाव प्रचार गर्न पाउने कुरा लोकतन्त्रका लागि विशेषताको कुरा हो । तर हाम्रा जनप्रतिनिधिहरुले त्यो प्रकारको वातावरण सबै ठाउँमा प्राप्त गर्न सकेनन् । कतिपय ठाउँहरुमा अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने, यो निर्वाचन अवधिमा जतिपनि घाईतेहरु छन्, ती घाईतेहरु प्रतिपक्षका कार्यकर्ताहरु मात्रै छन् । मुठभेड हो भने दुवै पक्षका हुन्छन् नि । यसले के बताउँछ भने सत्ता पक्ष गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित गर्ने खालको काममा अग्रसर रह्यो भन्ने कुरा प्रमाणित हुन्छ । दुई ठाउँमा मृत्यु भएको छ । त्यो घटनाको निष्पक्ष छानबिन होस् र दोषीउपर कडा कारबाही होस् । म सरकारसँग आग्रह गर्दछु । यसपटकको मौन समयमा नयाँ प्रवृति देखा परेको थियो । त्यो अवधिमा नियोजित रुपमा उम्मेदवारहरुको घरमा आक्रमण भयो । उम्मेदवारलाई हतोत्साही गर्ने खालको श्रृंखला नै चलाइयो । चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण भयो । त्यस घटनाको हामीले प्रतिवाद गरेका थियौँ । अर्को कुरा जहाँ नेकपा एमालेका प्रभाव क्षेत्र छन्, त्यहाँ निर्वाचन बिथोल्न तनाव सिर्जना गर्ने र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति रह्यो ।’

महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताउनु भयो । उहाँले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताउनु भयो । उहाँले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?