धमाधम मत गणना, नतिजा सार्वजनिक हुँदै

रासस
Read Time = 3 mins

महोत्तरी । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

गए राति सम्पन्न महोत्तरी-१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह आठ हजार तीन सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ । साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले पाँच हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महोत्तरी-२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार चार सय २४ र महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह आठ हजार पाँच सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको कार्यालयले जनाएको छ । राइनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का मञ्जु यादवले छ हजार दुई सय ५१ र साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले छ हजार आठ सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले पुष्टि गर्नुभयो ।

यस्तै महोत्तरी-४ (१) मा नेकपा (एमाले)का सरोजकुमार यादव १० हजार पाँच सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले आठ हजार छ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी-३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवार क्रमशः अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी हुनुभएको हो । शर्माका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले नौ हजार सात सय ७८ र तिवारीका निकटतम् प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले चार हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको छ । जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी-१ (१) र महोत्तरी-४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभातर्फ भने चारै क्षेत्रमा गणना अझै जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?