सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि तनाव, दुई दर्जन बढी नगर प्रहरी घाइते

महानगरविरुद्ध नाराबाजी, घरेलु हतियारसहित प्रदर्शनमा उत्रिए स्थानीय

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार दिनभर तनावग्रस्त बन्यो । सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा तनाव उत्पन्न भएको हो । सोमबार काठमाडौं महानगरपालिकाले अनाधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियानअन्तर्गत बस्तीमा डोजर चलाउन खोजेपछि तनाव उत्पन्न भएको थियो । बस्तीमा डोजर चलाउने क्रममा बस्तीका मानिसहरूले अवरोध गरेका थिए । आक्रोशित स्थानीयले महानगरपालिकाविरुद्ध चर्को नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए । डोजरको प्रतिकार गर्न स्थानीयले इँटासमेत प्रहार गरेको महानगरले जनाएको छ । डोजरसहित महानगरका करिब तीन सय नगर प्रहरी सुकुम्बासी बस्ती हटाउन परिचालित भएका थिए ।

काठमाडौं महानगरपालिकाले यसअघि ३५ दिने सूचना जारी गर्दै बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसिर ४ गतेभित्र अनाधिकृत रूपमा बनाइएको बस्तीका टहरा खाली गर्न निर्देशन दिएको थियो ।

सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू बस्तीबाट नहट्ने बताइरहेका छन् । महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रूपमा हातहतियारसमेत प्रहार भएको बताउनुभयो । बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढा प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित ३६ सुरक्षाकर्मी घाइते भएका छन् । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका छन् । ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र दुई जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिनुभएका नगर प्रहरी निरीक्षक सूर्य केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये धेरैको टाउकोमा चोट छ । ‘नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारीसाधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो,’ उहाँले भन्नुभयो, ‘सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो । त्यस अवधिमा किनाराका संरचना हटेको थिएन ।’ आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुनबमोजिम कारबाही हुने स्पष्ट पार्नुभयो ।

बागमती नदी ओगटेर बसेका सुकुम्बासीहरूलाई हटाउन सरकारले पटक-पटक प्रयास गर्दै आइरहेको छ । तर, हालसम्म हटाउन सकेको छैन । सुकुम्बासी बस्तीका बासिन्दाले भने बारम्बार माग गर्दा पनि सरकारबाट उनीहरूको समस्याको स्थायी समाधान हुन नसकेको गुनासो गरिरहेका छन् ।

सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : भुसाल
ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिनुभएको छ । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उहाँले भन्नुभएको छ । सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

विकल्पबिना सुकुम्बासी बस्ती उठाउने काम बन्द गर्नुहोस् : चौधरी
नेपाल भूमि अधिकार संगठन केन्द्रीय अध्यक्ष शान्ता चौधरीले बिना विकल्प सुकुम्बासी बस्ती उठाउने काम बन्द गर्न अनुरोध गर्नुभएको छ । काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि उहाँले पहिला उनीहरूको बासका लागि विकल्प खोज्न आग्रह गर्नुभएको हो । सुकुम्बासी बन्ने रहर कसैको नभएको उल्लेख गर्दै उहाँले गरिबप्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । ‘विकल्प बिना सुकुम्बासी बस्ती उठाउने काम बन्द गर । सुकुम्बासी हुनु कसैको रहर होइन बाध्यता हो ! गरिबप्रति जिम्मेवार बन’, उहाँले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?