एक खर्ब दुई अर्ब ६० करोड पुनर्कर्जा लगानी

Read Time = 7 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा बैंक वित्तीय संस्थामा रहेको निक्षेप ४६ अर्ब ७४ करोड अर्थात् नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६२ अर्ब ४२ करोड अर्थात् १.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिकमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको तथ्यांकअनुसार २०७९ कात्तिकमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.४, २६.० र ५८.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः ७.१, ३३.१ र ५२.३ प्रतिशत रहेको थियो ।

त्यस्तै, २०७९ कात्तिकमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.१ प्रतिशत रहेको छ । २०७८ कात्तिकमा यस्तो निक्षेप अंश ३९.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६८ अर्ब ५५ करोड अर्थात् १.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन खर्ब ६४ अर्ब ६२ करोड अर्थात् ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.४ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत रहेको थियो ।

कात्तिकसम्ममा एक लाख ४८ हजार चार सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १.३ प्रतिशत, विकास बैंकको ३.४ प्रतिशत र वित्त कम्पनीको ०.१ प्रतिशतले बढेको छ । २०७९ कात्तिकमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति धितोमा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जा अनुपात क्रमशः ६६.५ र १२.३ प्रतिशत रहेको थियो ।

चार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८, सेवा उद्योग क्षेत्रतर्फ ३.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ कर्जा २.९, निर्माण क्षेत्रतर्फ २.५, कृषि क्षेत्रतर्फ २.४ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ कात्तिकमा एक खर्ब दुई अर्ब ६० करोड लगानीमा रहेको छ । कात्तिकसम्ममा एक लाख ४८ हजार चार सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ । जसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार चार सय ६१ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८५ हजार एक सय ३८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब छ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३४ ऋणीको तीन अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा कात्तिकमा ८५ करोड ९४ लाख बक्यौता रहेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रियापछि २०७९ कात्तिकसम्म कुुल दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये एक सय ७९ संस्थाको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन् ।
त्यसैगरी कुल सात सय ५३ स्थानीय तहमध्ये २०७९ कात्तिकसम्म सात सय ५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७८ कात्तिकसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए । हाल बैंक तथा वित्तीय संस्थाको संख्या एक सय २५ रहेकोमा २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?