ग्रामीण सडकमा यातायात: गाउँ जाँदा खचाखच, फर्किदा रित्तै

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । देशका विभिन्न सहरहरुबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगहरुमा जाने सवारी साधनहरु खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामाग्रीलगाएतका साधनहरुले खचाखच भएर गाउँजाने भएपनि गाउँबाट फर्किदा भने रित्तै फर्कने गरेका छन् ।

जिल्ला भित्र संचालित २ दर्जन भन्दा बढी ग्रामीण सडकहरुमा आवत जावत गर्ने सवारी साधनहरुमा मानिस कम र उपभोग्य तथा निर्माण सामाग्रीका साधनहरु बढी ढुवानी हुने गर्दछन् । गाउँजाँदा सामानले खचाखच हुने ती सवारी साधनहरु गाउँबाट फर्किदा भने रित्तै फर्किने गरेका यातायात व्यवसायी तथा व्यापारीहरुले बताएका छन् ।

जिल्लाको ग्रामीण पछिल्लो पटक व्यवसायिक कृषि र पशुपालनमा उल्लेख्य प्रगति भएको भनिए पनि देखिनेगरी परिणामहरु आउन नसकेको पाइएको छ । केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाहरुले व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती, बाख्रा, कुखुरा र पशुपालन गरेका भए पनि नियमित रुपमा निर्यात गर्न सक्ने अवस्था बनि नसकेकोले गाउँजाँदा खचाखच भरिएर जाने यातायातका साधनहरु फर्किदा भने रित्तै हुने गरेका म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बताउनुभयाे ।

म्याग्दीका ग्रामीण भेगहरुमा सडकको पहुँच पुगे पनि थप सुविधाका लागि गाउँ छोडेर शहर पस्ने क्रम बढ्दै गएको स्थानीयले बताएका छन् । ‘गाउँमा रहेका पुराना घरहरु रित्तै छन्, पछि बनेका घरहरु स्थानीय स्रोत साधनको प्रयोग नगरी रड र सिमेन्टको प्रयोगबाट पक्की घर निर्माण हुँदै छन् ’धौलागिरि गाउँपालिका-६ का इन्द्र सुवेदीले भन्नुभयाे । मानिस नबस्ने तर घर भने पक्कीबनाउने रहरले गर्दा पनि गाउँमा निर्माण सामग्री लिएर सवारी साधनहरु बढी भित्रिने गरेका र ती साधनहरु फर्किदा रित्तै फर्किने गरेका उहाँको भनाइ छ ।

गाउँघरमा घर निर्माण हुने क्रम बढे पनि युवा जनशक्ति भने घट्दै गएको छ । वैदेशिक रोजगार, बसाइसराइ, जागिर र अध्ययनका लागि ठूलो संख्यामा युवाहरु गाउँ वाहिर नै रहँदा उत्पादनजन्य कार्यहरु रोकिएका स्थानीय वासिन्दाहरुको भनाइ छ ।

म्याग्दीको उत्तरी र पश्चिमी क्षेत्र कृषि, पशुपालन, वनपैदावर र जडिबुटीको भण्डार नै मानिन्छ । उत्तरी र पश्चिमी म्याग्दीका १७ वटा गाउँहरु उत्पादकत्वको हिसावले उत्कृष्ट गाउँ मानिए पनि गाउँलेहरु अझै पनि बजारबाट ट्याक्टर र जीपमार्फत गाउँमा आउने खाद्यान्न खाएर गुजारा चलाउँदै आएका मालिका गाउँपालिका-२ का श्यामबहादुर विकले बताउनुभयाे ।

पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट, ताकम, मुना, मुदी, बिम, गुर्जा र उत्तरी म्याग्दीका नारच्याङ, शिख, घार, भूरुङ तातोपानी, दोबा, हिस्तानलगाएतका गाउँहरु कृषिउपज र वनपैदावरका लागि अत्यन्त सम्भावना युक्त गाउँहरु हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर गाउँलेहरुले आयातित खाद्यान्न खानुपरेको नारच्याङका टेकवहादुर पुनले बताउनुभयाे ।

सडक पुगेपछि गाउँलेहरुको आर्थिक अवस्थामा कुनै पनि परिवर्तन नदेखिएको स्थानीयकाे भनाई छ । विदेशबाट आफन्तले पठाइदिएको रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ ।

सहरबाट गाँउमा ट्रक जादा सामान भरिएर जाने, र आउदा रित्तै आउने प्रबृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन । यसले हाम्रो अर्थ प्रणालीको नाजुक अवस्थालाई प्रष्ट पार्दछ । अझ राजनीतिक दवावबाट सडक निर्माण गर्ने प्रबृत्तिले सडकको अवस्था पनि कमजोर हुनुले यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल्ने गरेका स्थानीयको गुनासो रहेको छ ।

‘शहरबाट गाउँमा लैजाने चिज धेरै हुन्छ, ट्क, ट्याक्टरमा मात्रै होइन वसमा नै पनि सामानहरु हालेर गाउँ लगिन्छ, तर गाउँबाट ल्याउने चिज केही नहुँदा रित्तै फर्किनु पर्छ’ यातायात व्यवसायी कमल जिसीले भन्नुभयाे ‘यसरी त गाउँकहिले पो उँभो लाग्ला र ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?