कोहलपुमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
नगरपालिकाको एम्बुलेन्समार्फत कोहलपुरमा स्थायी ठेगाना भएका सुत्केरी महिलाहरुलाई निःशुल्क सेवा प्रदान गरिने भएको हो ।

मंसिर २७ गते बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गत स्वास्थ्य चौकीमा नियमित तीन पटकभन्दा बढी (एएससी) चेकजाँच गरेका कोहलपुरमा स्थायी ठेगाना भएका महिला सुत्केरी हुँदा नीजको घरदेखि अस्पतालसम्म लैजाँदा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुत्केरी अवस्थामा हुने जोखिम र समस्यालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको हो । यस्तै उहाँले कोहलपुर नगरपालिकाबासीलाई सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरिएको पनि बताउनुभयो । अन्यको हकमा भने जिल्ला एम्बुलेन्स दररेट बमोजिमको शुल्क लिइनेछ । कोहलपुर नगरपालिकाको दमकल र एम्बुलेन्स नगर प्रहरीको सहयोगमा २४ सै घण्टा सञ्चालन हुन सक्ने गरी तयारी अवस्थामा रहने पनि नगर प्रमुख आचार्यको भनाइ छ ।
उहाँले भन्नुभयो,‘एम्बुलेन्स सेवा सर्वसुलभ हुनेछ । सबै नगरबासीले जतिबेला पनि प्रयोग गर्न पाउँछन् । स्थानीय सरकारले दिएको सेवा दिन सबेलाई आग्रह गर्न चाहन्छु ।’

यस्तै एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरिने पनि कार्यपालिकाले निर्णय गरेको छ । एम्बुलेन्स चलाउने एक जना ड्राईभर भने नगर प्रमुखको सिफारिसमा ज्यालादारीमा कामकाजमा लगाउने निर्णय कार्यपालिकाले गरेको हो ।

कोहलपुरमा एम्बुलेन्स खरिद् गरेको लामो समय भइसकेको छ । यसअघि एम्बुलेन्स सञ्चालन गर्ने कार्यविधि नबन्दा खरिद् गरेको चार महिना भन्दा बढी एम्बुलेन्स थन्किएको थियो । तर मंसिर २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार एम्बुलेन्स सञ्चालन सम्बन्धि थप विषय सामाजिक विकास समितिले गरेको निर्णय अनुसार हुने भनिएको छ । लूटबहादुर रावत प्रमुख भएका बेला गत बैशाखमा नगरपालिकाले टेण्डरमार्फत ४४ लाख ९० हजार रुपैयाँमा ‘ख’ वर्गको एम्बुलेन्स खरिद् गरेको थियो ।

हाल कोहलपुर नगरपालिका अन्तर्गत रहेका १५ वटा स्वास्थ्य संस्था छन् । एउटा पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन । कुल १५ वटा वडा रहेको नगरपालिकामा तीन स्वास्थ्य चौकी, ११ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ्ग सेन्टर र एउटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । अहिले १५ बेडको नगर अस्पताल निर्माणधिन अवस्थामा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?