किरणसहित ११ खेलाडी टोली बाहिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षकसँग विवाद भएर प्रशिक्षण बाहिर रहेका ११ खेलाडीलाई टोलीबाट बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो ।

नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरजज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छोड्नुभएको थियो । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो । रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका थिए । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामा हुनुहुन्थ्यो । उहाँहरूलाई टोलीबाट हटाइएको हो ।

एफसी छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेलहरू कुवेतमा आयोजना हुनेछन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?