सर्वदलीय बैठक : प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

सत्ताराजनीति खेलको दाउपेचले पायो तीव्रता

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । पुस २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । शुक्रबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले पहिलो बैठकमा दलका शीर्ष नेताहरूले बोल्ने कार्यतालिका तय गर्ने निर्णय गरेको हो । बैठकले दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय गरेको छ । पहिलो बैठकलाई करिब दुई घण्टा समय निर्धारण गरेर दलको आकार अनुसार बोल्ने समय निर्धारण गरिने निर्णय भएको संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा कार्यव्यवस्था परामर्श समितिको चयन नभएसम्म बैठक सञ्चालन प्रक्रियाको बारेमा पनि छलफल भएको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको छ । यस्तै, बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तय गरेको छ ।
प्रतिनिधिसभा नियमावलीमा भएका व्यवस्थाअनुसार बैठक सञ्चालन गर्ने निर्णय र आवश्यक भएका नियमावली संशोधनका लागि मस्यौदा समिति निर्माण गर्नेबारे पनि छलफल भएको छ । दोस्रो सर्वदलीय बैठक पुस २६ गते ११ बजे गर्ने तय भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दै छ ।

सभामुख र उपसभामुखको निर्वाचन माघ ९ भित्र
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको छ । शुक्रबार नयाँ बानेश्वरमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे मोटामोटी सहमति भएको जानकारी दिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ । माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’

प्रचण्डजीप्रति पोजेटिभ धारणा छ, सरकारको गतिविधि हेरेर निर्णय लिन्छौँ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको गतिविधि हेरेर विश्वासको मत दिने÷नदिने भन्ने निर्णय गर्ने बताउनुभएको छ । सर्वदलीय बैठकपछि शुक्रबार संघीय संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डप्रति ‘पोजेटिभ’ धारणा भए पनि सरकारको गतिविधि हेरेर मात्र निर्णयमा पुग्ने बताउँदै भन्नुभयो, ‘व्यक्तिगत रूपमा प्रचण्डजीप्रति पोजेटिभ नै धारणा छ । अब सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरेर मात्र निर्णय गर्छौं ।’ नेकपा एमालेसँग एकताको चर्चाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले भन्नुभयो, ‘नजाने गाउँको बाटो नै नसोध्नू ।’

तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग भने एकताका लागि कुराकानी चलेको स्वीकार गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘पहिले जनता समाजवादी पार्टी (जसपा)सँग वार्ताको प्रक्रिया अगाडि बढाउँदै छौँ । सुरुमा सहकार्यका प्रक्रियादेखि पार्टी एकतासम्म कुरा हुनेछ । पार्टी निर्माण गर्ने, सुदृढ गर्ने र विस्तार गर्नेतिर लाग्छौँ । जनताका र राष्ट्रका इस्यु उठानमा केन्द्रित हुन्छौँ ।’

विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ : डा. भट्टराई
पूर्व–प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने जिकिर गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने भट्टराईको दाबी छ । राप्रपासहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ । राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले भने यस्ता शक्तिसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्ने जिकिर गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ । सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ ।’

संघीयता र गणतन्त्र विरोधीसँग गठजोड गर्नु बाध्यता : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता र गणतन्त्रविरोधी दलहरूसँग गठजोड गर्नु बाध्यता भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरूसँग गठजोड गर्न बाध्य भएको बताउनुभएको हो । भेटघाटमा सहभागी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने सवाल उठाउनुभएको थियो । आफूहरू जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरू भएकाले गठजोड गर्न बाध्य भएको भन्दै जवाफमा प्रचण्डले ‘आफूहरू जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरू भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई एकगठ गर्न बाध्य भएको’ बताएको वरिष्ठ उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।

प्रचण्डलाई विश्वासको मत दिन्छौँ : यादव
जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । संसद् भवनमा शुक्रबार बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसदसमेत रहनुभएका नेता यादवले भन्नुभयो, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रूपमा हस्ताक्षर गरिसकेका छौँ, मत दिन्छौँ । प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?