प्रा.डा.अर्जुनदेव भट्टका दुई कृति एकसाथ विमोचन

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । वरिष्ठ युरोलोष्टि प्रा.डा.अर्जुनदेव भट्टका दुई कृति एकसाथ लोकार्पण गरिएको छ । आइतबार राजधानी काठमाडौंमा एक विशेष समारोहबीच प्रा.डा.भट्टका ‘मूत्र र जननेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार र डाक्टरको द्विविधा’ कृति लोकार्पण गरिएको हो ।
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषको आयोजनामा भएको समारोहमा डा.दामोदर पुडासैनी ‘किसोर’, डा.उत्तम शर्मा, कवि साहित्यकार कलानिधि दाहाल, हरिभक्त सिग्देल र स्रष्टा भट्टले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो भने दाहाल, शर्मा र पुडासैनीले कृतिका बारेमा बोल्नुभएको थियो । साहित्यकार सिग्देलले प्रा.डा.भट्टका कृतिहरू जीवनपयोगी र चिकित्सा क्षेत्रमा नेपालको वास्तविकता दर्शाउने रहेको बताउँदै भन्नुभयो, ‘उहाँका कृति चिकित्सा क्षेत्रका लागि निकै उपयोगी छन्, आफूले देखेका, भोगेका, अनुभव र अनुभूति गरेका विषयलाई प्रा.डा. भट्टले आख्यान र गैह्रआख्यानका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । नवीनतम् कृतिका लागि उहाँलाई बधाई तथा शुभकामना ।’

यस्तै वरिष्ठ कवि तथा साहित्यकार दाहलले प्रा.डा.भट्टका कृतिमा चिकित्सा क्षेत्रका बिम्बहरूको उत्कृष्ट नमुना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रा.डा.भट्टका कृतिमा चिकित्सा क्षेत्रका भरपुर बिम्ब छन्, यस क्षेत्रका बिम्बहरूको उत्कृष्ट नमुना यसमा छ । नेपाली धर्ती, सोच र विचारका आवेगहरू मिठोगरी बगेको छ ।’ चिकित्सा क्षेत्रको व्यक्ति प्रा.डा.भट्टलाई साहित्यिक आँखाबाट हेर्दा भवसागर प्रतित हुन्छ भन्दै दाहालले भन्नुभयो, ‘डा.भट्टलाई साहित्यिक आँखाबाट हेर्दा भवसागर प्रतित हुन्छ । उहाँले मानवतावादी उत्कृष्ट मनोविज्ञान सिर्जना गर्नुभएको छ कृतिमा । त्यस्तै राजनीतिक विकृतिलाई उजागर गर्नुभएको छ । चाकडी प्रथाका विरोध गर्नुभएको छ । उच्च स्वाभिमान बोकेर उहाँले उच्च मनोविज्ञानबाट समाधान प्रस्तुत गर्नुभएको छ ।’

यसैगरी डा.पुडासैनी ‘किसोर’ले चिकित्सकबाट स्वास्थ्य क्षेत्रमा आधिकारिक पुस्कतहरू कम प्रकाशित भएको वर्तमान अवस्थामा प्रा.डा. भट्टको कृति धेरै उपयोगी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘चिकित्सा क्षेत्रबाट स्वास्थ्यका क्षेत्रमा आधिकारिक पुस्तकहरू कम प्रकाशित भएको वर्तमान अवस्थामा प्रा.डा.भट्टको पुस्तक धेरै उपयोगी हुनेछन् । यो पुस्तक स्वास्थ्य क्षेत्रको ‘कि बुक’ हुनेछ ।’ उहाँले अगाडि भन्नुभयो, ‘यो पुस्तक घरघरका लागि उपयोगी छ, संग्रहणीय छ र स्वास्थ्य समास्याका कारण उचित गन्तव्य नपाएकालाई यसले मार्गदर्शन गर्न सक्छ ।’

त्यस्तै डा.शर्माले लोकार्पित कृति ‘मूत्र र जननेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार’ मेडिकल क्षेत्रका लागि र सर्वसाधारणका लागि निकै उपयोगी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रासरुटमा रहेका जनसमुदायलाई यो कृति धेरै उपयोगी छ, प्यारामेडिक्सलाई धेरै ज्ञानवद्र्धक छ एवं एमबिबीएस र एमएस अध्ययन गर्दै गरेकाका लागि धेरै उपयोगि छ ।’ डा.शर्माले कृतिमा मेडिकल ट्रमका शब्दलाई सरल र सहज रूपमा प्रस्तुत गरिएको बताउँदै भन्नुभयो, ‘पुस्तकमा मेडिकल ट्रमका शब्दलाई सरल र सहज रूपमा प्रस्तुत गरिएको छ । सामान्य नेपाली पढ्न सक्ने सरल र सहज छ । समस्याका समाधानको बाटो देखाइदिनुभएको छ ।’ डा.शर्माले कृतिमा विशिष्ट एवं सिर्जनात्मक कला आफूले पाएको अनुभुति व्यक्त गर्नुभयो ।

कृतिकार प्रा.डा.भट्टले लेख्ने बानी र रहर भएकालाई लेखनमा जागरण चल्दो रहेछ भन्दै जीवन सार्थक बनाउन लेखनले ठूलो सहयोग पुर्‍याउने विचार व्यक्त गर्नुभयो । आफूले तीन सयभन्दा बढी लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित गरको र तिनै लेख रचनालाई पुस्तकका रूपमा प्रस्तुत गर्दै गएको जानकारी गराउनुभयो । पुस्तकको मुख्य उद्देश्य सरल र सहजरूपमा स्वास्थ्यसम्बन्धी जानकारी दिनु नै रहेको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो लेखनको मुख्य उद्देश्य स्वास्थ्यसम्बन्धी सरल र सहजरूपमा सबैमा जानकारी दिनु हो । मेरा कृति बिरामीको पीडा र वेदनाका लिपि हुन् । रोगबाट जानकारी लिएर केही भए पनि आफ्नो समस्या समाधान गर्ने विश्वासले मैले कृति प्रकाशन गरेको हुँ ।’ यस्तै ‘डाक्टरको द्विविधा’ कृतिमा स्वास्थ्य क्षेत्रको समस्या र इतिहास रहेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘मैले हाम्रो देशको स्वास्थ्य क्षेत्रका समस्या र इतिहास यस कृतिमा समाबेस गरेको छु । चिकित्सा क्षेत्रका धेरै कुरा यर्थाथ रूपमा यसमा प्रस्तुत गरेको छु । स्वास्थ्य सेवामा हामी कहाँ छौ, त्यसलाई दर्साउन यो पुस्तक प्रस्तुत गरेको हुँ ।’

समारोहमा ‘प्रा.डा.भट्टका कृति र देशको वर्तमान स्वास्थ्य अवस्था’ विषयमा अन्तक्र्रिया पनि गरिएको थियो । सहभागीमध्येबाट उत्तम निरौला, सुनिल पन्तलगायतले राखेका जिज्ञासाको प्रा.डा.भट्ट र डा.शर्माले जवाफ दिनुभएको थियो । साहित्यकार भैरवी भूगोलले सहजीकरण गरेको कार्यक्रममा हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, साहित्यकार विनोद दाहाल ‘वत्स’, डा.अवनिभूषण उपाध्याय, डा.ईशा उपाध्यायलगायत चिकित्सा, साहित्य र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

प्रा.डा.भट्टको ‘मूत्र र जननेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार’ कृतिमा आकस्मिक मूत्र तथा जननेन्द्रीय रोगहरू, बाल युरोलाजी, मूत्रपणालीको पत्थरी, गर्भवतीमा मृगौलाको पत्थरी, प्रोष्टेट संलग्न रोग, मूत्र जननेन्द्रीय प्रणालीको क्यान्सर, पुरुष यौनदुर्बलता, स्त्री यौनिक गतिविधि र समस्या र विविध गरी नौ खण्डमा विभिन्न विषयवस्तु प्रस्तुत गरिएको छ । २६० पृष्ठको यस कृतिको मूल्य सात सय रुपैयाँ राखिएको छ । पुस्तकलाई नदेझ्दा भट्टले प्रकाशन गर्नुभएको हो ।

यस्तै ‘डाक्टरको द्विविधा’मा डाक्टरको द्विविधा : एक दृष्टि, मेरो चिन्तन, शताब्दी स्पर्श अग्रज नागरिक, जीवन डिल दर्पण, बटारिएको शुक्रग्रन्थि, लिंगको अग्रचर्मका अनेक पक्ष, पुरुष बाँझोपन र भेरिकोसिलको भूमिका, मूत्रथैलीको क्यान्सर र तमाखु, प्रोष्टेट ग्रन्थिको क्यान्सर वरिपरि, वीर अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण, कालबिनाको मृत्यु, मूत्रपणालीमा अनेक थरीका पत्थरी, परिवर्तनशील प्रोष्टेट ग्रन्थि र भैंसीसँग व्यतीत सार्थक जीवन जस्ता शीषर्कमा २१८ पेजमा विषयवस्तु प्रस्तुत गरिएको छ । यसको प्रकाशकमा ओरिएन्टल प्रकाशन गृह रहेको छ ।

प्रा.डा.भट्टका यसअघि बैतडीका केही स्थानीय शब्द (भाग-१) सह-सम्पादन, प्रकृतिक परिवार नियोजन (अगुवा पुस्तक), एड्स पतिरक्षाप्रणाली विनाशक रोग, यौनप्रसारित रोगहरू, मुटुको धड्कन (खण्डकाव्य), अविस्मरणीय पलहरू (कवितासंग्रह), समय यात्रा (जलेश्वर-जनकपुर अस्पतालको सम्झना), मेरी आमाः एक दृढ प्रतिज्ञा नारी जस्ता कृति प्रकाशित छन् । तस्वीर : रामदत्त मिश्र ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?