७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न

Read Time = 4 mins

काठमाडौं । भन्सार विभागले विभिन्न कार्यक्रम आयोजना गरी बिहीबार ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभएको छ । उहाँले उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न, वैध व्यापार प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार कर्मचारीलाई निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको भन्दै भन्सार चुहावट नियन्त्रण गर्न कडाइसाथ लाग्नसमेत निर्देशन दिनुभयो ।

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अघि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गरी व्यापार सहजीकरण र राजस्व संकलन गर्दै राष्ट्र निर्माणमा आवश्यक स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न निर्देशन दिनुभयो । राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा हुने क्रियाकलापमा निगरानी बढाउँदै कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको जानकारी गराउँदै विभागले समग्र कार्यसम्पादन प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरीपैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँग समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान प्रदान गर्नुभएको हो । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । अर्थ मन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघि रसुवा भन्सार प्रमुख हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?