मुक्तक प्रतिष्ठानको वार्षिकोत्सवमा खरेल र ज्ञवाली पुरस्कृत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानको दशौं वार्षिकोत्सव र मुक्तक दिवसको अवसरमा वरिष्ठ मुक्तककार यादव खरेल र रुद्र ज्ञवालीलाई पुरस्कृत गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानले वरिष्ठ मुक्तककार खरेललाई ५१ हजार रुपैयाँ राशिको भीमदर्शन मुक्तक पुरस्कार र ज्ञवालीलाई ३१ हजार रुपैयाँ नगद राशिको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार प्रदान गरिएको हो । दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काइँलाले अर्पण गर्नुभएको थियो ।

दुवै पुरस्कारका संस्थापक तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सञ्चालित कार्यक्रममा संस्थाले प्रकाशित गरेको ‘स्मारिका’ पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा मुक्तकमा समर्पित चार संस्था घुम्ती मुक्तक नेपाल (काठमाडौं), हातेमालो साहित्य (काठमाडौं), मुक्तक मण्डप (भैरहवा) र मुक्तक मञ्च (पोखरा)लाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वबारे आफ्ना भनाइ राख्नुभएको थियो भने प्रमुख अतिथि बैरागी काइँला, अध्यक्ष रामकाजी कोने, पुरस्कृत खरेल र ज्ञवालीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, मुक्तककारहरू निर्मलरमण पराजुली (अध्यक्ष-घुम्ती मुक्तक नेपाल), रामजीप्रसाद आचार्य (अध्यक्ष-मुक्तक मञ्च केन्द्र, पोखरा), विष्णु विवश पोखरेल (अध्यक्ष-मुक्तक मण्डप, रुपन्देही) र सुनिल अधिकारी (अध्यक्ष-हातेमालो साहित्य संगम)ले पनि आफ्ना भनाई राख्नुभएको थियो ।

प्रतिष्ठानको महासचिव यादव भट्टराईले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभएको थियो भने संस्थाका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा संस्थाकी सल्लाहकार उषा शेरचनले धन्यवाद-ज्ञापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?