स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ रुपमा सम्पूर्ण नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गर्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उहाँले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यक्ताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढ्न प्रतिष्ठानलाई निर्देशन दिनु भयो ।

प्रधानमन्त्री दाहालले विकास आयोजनाहरु तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागि परेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतिपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न देशका सम्पूर्ण विकास आयोजनाहरु तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन सरकार दृढ संकल्पित छ । सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आवद्ध चिकित्सकहरु, कर्मचारीहरु, आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवम् सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी छ । २०७२ सालमा जारी नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गर्दै समाजवाद उन्मुख स्वास्थ्यको संकल्प गरेको छ । संविधानमा व्यवस्था भए बमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासनका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ । वर्तमान सरकार संविधानमा व्यवस्था भए बमोजिम ऐनहरु तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकहरुको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहलकदमी भईरहेको विषय पनि म यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु । आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यक्ताको सम्बोधन हुने गरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढने अपेक्षा र निर्देशन समेत गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरुलाई सचेत गराउनु भयो । उहाँले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालहरुले जोड दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?