भारतसँग हारे पनि फाइनल पुग्ने अवसर कायमै

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:५९ AM)

भारतसँग हारे पनि फाइनल पुग्ने अवसर कायमै

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । तर, फाइनल पुग्ने अवसर भने नेपालसँग कायमै छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन । खेलमा कप्तान सुनिल क्षेत्रीले भारतका लागि एकमात्रै निर्णायक गोल गर्नुभएको थियो ।

त्यसअघि खेलको २५औं मिनेटमा गोलरक्षक किरण चेञ्जोङले भारतीय प्रहार विफल पार्नुभयो । ३४औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न सक्नुभएन । पहिलो हाफमा रोहित चन्दले उत्कृष्ट तरिकाले रक्षापङ्ति सम्हाल्नुभएको थियो । ८२औं मिनेटमा भारतले अग्रता लिएको थियो । फारुख चौधरीको हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसपछि आक्रामक बनेको नेपालले भारतको पोस्टमा प्रहार थाल्यो । ८६औं मिनेटमा अञ्जन विष्टले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । लगत्तैको प्रहार भारतका गोलरक्षक गुरप्रितले सिंहले जोगाउनुभयो । खेलमा नेपालले रक्षात्मक रणनीति अपनाएको थियो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगीलाई मात्रै एकल फरवार्डका रूपमा उतार्नुभएको थियो । विंगरका रूपमा सुमन लामा र सुजल श्रेष्ठलाई तथा मिडफिल्डमा प्रशिक्षक अब्दुल्लाहले तेज तामाङ र पुजन उपरकोटीलाई उतार्नुभएको थियो । डिफेन्सको जिम्मेवारीमा अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्यालको काँधमा रहेको थियो ।

यस हारका बाबजुद नेपाल तीन खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । तीन खेलमा समान ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा तीन खेलमा पाँच अंक जोडेको भारत तथा चौथो स्थानमा तीन खेलमा चार अंक जोडेको बंगलादेश छ । चार खेलमा एक अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४ः४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । 

खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारका बाबजुद नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिनुभयो । ‘हामीले धेरै राम्रो खेल खेल्यौं । हामीले बलियो प्रदर्शन गरे पनि एउटा गल्ती गर्न पुग्यौं । त्यसै गल्तीले गोल खान पुग्यौं । हामी आफैं भने फिनिसिङमा भाग्यमानी हुन सकेनौं,’ उहाँले भन्नुभयो, ‘तैपनि सब ठीक छ, हामी तालिकामा माथि छौं । अब हाम्रो ध्यान अर्को खेलमा हुनेछ । बंगलादेशविरुद्ध जित हासिल गरेर हामी फाइनल पुग्न चाहन्छौं ।’

‘हामीले रक्षात्मकमात्र खेलेको होइन । बल हुँदा आक्रामक रणनीति पनि थियो । हामीले निकै अवसर पनि सिर्जना गर्‍यौं । कर्नर पनि जितेका थियौं,’ उहाँले थप्नुभयो, ‘यसको मतलब म होइन, हाम्रो टोली राम्रो हो । आजको खेल हा¥यौं, अब अर्को खेलमा ध्यान दिनेछौं । यो हारको जिम्मेवारी म लिनेछु । खेलाडीले हारेको होइन, म हारेको हो । खेलाडीहरूले एकदम मिहिनेत गरेका छन् ।’

प्रतियोगिताको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाब आएको छ । उक्त खेलको दबाब रहने प्रशिक्षक अलमुताइरी बताउनुहुन्छ । ‘प्रतियोगितामा हरेक खेल कठिन छ । आजको खेलमा पनि दबाब थियो । तर, आजको खेलका दौरान खेलाडी एकआपसमा झुम्मिएका थिए, झगडा भएन राम्रो तर त्यो राम्रो दृश्य थिएन,’ उहाँले भन्नुभयो, ‘यो खेल हो, दुई राष्ट्रबीच फुटबल खेल र यसलाई मैदानभित्र खेलमा सीमित राख्नुपर्छ । चाहे त्यो हृयान्डबल, भलिबल वा क्रिकेट नै किन नहोस् ।’

Top