निफ्राले वेयर हाउजिङमा पाँच करोड लगानी गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडमा नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले पाँच करोड बराबरको स्वःपुँजी लगानी गर्ने भएको छ । कुल जारी चुक्ता पुँजी ५५ करोडमध्ये निफ्राले पाँच करोड बराबरको सेयर पुँजी लगानी गर्ने भएको हो ।

अन्य लगानीकर्ताबाट बाँकी हुन आउने ५० करोड जम्मा भएपछि कम्पनीले आगामी आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक निष्काशनबाट कुल पुँजीको २० प्रतिशतमा हुन आउने १३ करोड ७५ लाख लगानी जुटाउने जनाएको छ ।

कम्पनी ऐन २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिङले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, बोलकबोलमार्फत् खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयर हाउस रसिदका आधारमा बैंक तथा वित्तीय संस्थामार्फत् ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्य लिएको छ ।

कम्पनीले सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले सञ्चालन गर्न लागेको र निर्माणाधीन परियोजनाको लागत एक खर्ब ३९ करोड रहेकोमा सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिने बताइएको छ । कम्पनीको हालको पुँजी २३ करोड ३७ लाख रहेकोमा सेयरधनीबाट समेत कुल ५५ करोड जुटाउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?