काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार चुनावी प्र्रतिबद्धतापत्र सार्वजनिक गर्दै वरिष्ठ कलाकारसमेत रहनुभएका श्रेष्ठले महानगरपालिकाबासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताउनुभयो ।
प्रतिबद्धतामा उहाँले काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने उल्लेख गर्नुभएको छ । त्यसैगरी, प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने पनि उहाँको प्रतिबद्धता छ ।
यस्तै श्रेष्ठले विगतका जनप्रतिनिधिहरूले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डंगुरमा परिणत भएको बताउनुभयो । उहाँले विगतका जनप्रतिनिधिले गरेको फोहोरको समस्या समाधान गर्न आफू समक्ष हुनेसमेत दाबी गर्नुभयो । उहाँको प्रतिवद्धता पत्रमा ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त शहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंमा मूलभूत रूपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आम नागरिकहरूलाई विशेष अनुरोध गर्न चाहन्छु-तपाईंहरूको अमूल्य मतले मलाई विजयी गराउनुभयो भने तपाईंहरूको मनोभावना र चाहनाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच