रुविना र सीता युएई प्रस्थान

Read Time = 3 mins

काठमाडौं । युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टि-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगर शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरू दुवैजनालाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमका बीच बिदाइ गरेको छ ।

रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोस टोलीबाट खेल्नुहुनेछ । प्रतियोगितामा ६ टोलीका विश्व महिला क्रिकेटका हस्तीहरूले सहभागिता जनाउँदै छन् । रुविनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नुहुनेछ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत् टमाटा र फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतले शनिबार खेलाडीहरूलाई बिदाइ गर्नुभएको थियो ।

कप्तान रुविनाले युएईमा आफूहरूले ठूलो अवसर पाएको उल्लेख गर्दै यस अवसरबाट सम्पूर्ण नेपाली क्रिकेटलाई नै फाइदा पुग्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरूले पाएको मौकाको पूर्ण सदुपयोग गर्ने जनाउँदै त्यहाँ सिकेको सीपलाई फर्केपछि अरू खेलाडीलाई पनि सिकाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगिता ४ मेदेखि १५ मेसम्म दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुनेछ । जसमा १९ खेल हुनेछन् । सीताको टोलीमा कप्तान टेलरसँगै न्युजिल्यान्डकी चर्चित ब्याटर शोफी डेभनी, न्युजिल्यान्डकी क्याटी मार्टिन, पाकिस्तानकी अलिया रियाज र दक्षिण अफ्रिकाकी सुने लुसजस्ता विश्व चर्चित खेलाडी हुनुहुन्छ । रुविनाको टोली द बर्मी आर्मीमा हेदरसँगै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड, पाकिस्तानकी फतिमा सना र वेस्टइन्डिजकी डिआन्ड्रा डोटिनजस्ता चर्चित खेलाडी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?