तिलोत्तमाका अव्यवस्थित सुकुम्बासी भन्छन्- धेरैले झुक्याए

Read Time = 4 mins

चन्द्रकान्त खनाल/हिटा
रूपन्देही । ‘तपाईंको जग्गाको पुर्जा आउँछ र घर पनि हामीले बनाइदिन्छौँ भने मैले पनि भोट दिएँ । तर, न घर बन्यो न पुर्जा नै पाएँ ।’ छिमेकीको भर्खर बन्दै गरेको घरको पिँढीमा बसेर माया हिताङ बर्बराउँदै हुनुहुन्थ्यो । ‘पहिला भोट दिएँ तर फर्किएर कोही सोध्न र खोज्न आएनन्, अहिले चुनाव आयो दैनिक भोट दिनु भन्दै घरमै आइपुग्छन् ।’ उमेरले साढे पाँच दशक पुग्नै लाग्नुभएकी हिताङको पाँच वर्ष पहिलाको जस्तो अवस्था छैन ।

जीवन जिउने सहारा रहेका श्रीमान्लाई पनि गत वर्ष तिनाउमा आएको बाढीले सदाका लागि लगिदियो । अघिल्लो निर्वाचनमा केही काम गरेर आफैं पेट पाल्न सक्ने उहाँलाई उमेरसँगै आएको बुढ्यौलीले त समात्यो साथै शरीर पनि रोगको घर बनेको छ ।

तिलोत्तमा नगरपालिका-४ सिमानगरमा बस्ने हिताङले अघिल्लो निर्वाचनमा जसलाई मत दिएको भए पनि यसपटक जसले औषधि किन्न खर्च र भत्ता दिन्छ त्यसैलाई मत दिने बताउनुभयो । तिलोत्तमा-३ र ४ मा पर्ने यो बस्तीमा माया हिताङजस्तै सयौं मतदाता छन् ।

सोही बस्तीमा १६ वर्षदेखि बस्दै आएका ५४ वर्षका रामबहादुर तामाङले पनि बस्तीमा खासै परिवर्तन देख्नुभएको छैन । उहाँले भन्नुभयो, ‘केही सडकहरू बनेका छन् तर हाम्रोे दैनिकीमा कुनै परिवर्तन भएको छैन । म मजदुरी गरेरै बाँच्दै आएको छु । पैसा हुनेहरूको घर ठडिएको छ म भाडामै बस्दै आएको छु ।’

हरेक निर्वाचनमा तिलोत्तमाका यस्ता अव्यवस्थित र सुकुम्बासी बस्तीहरू भोट बैंकका रूपमा प्रयोग हुने गरेका छन् । पटक–पटकको चुनावमा लालपुर्जा पाउने आश गर्दै स्थानीय, प्रदेशदेखि केन्द्रसम्म तिलोत्तमावासीले नेताहरूलाई जिताएका हुन् ।

बस्तीमा सानो व्यवसाय गरेर बस्नुभएकी एक महिलाले लालपुर्जा पाउने भन्दै नगरपालिकाले टोकन बाँडेको बताउनुभयो । उहाँले यसपटक पनि प्रायः सबै राजनीतिक दलहरूले भोट माग्न आउँदा लालपुर्जा दिने आश्वासन दिने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा हामीलाई लालपुर्जा दिने भन्दै झुक्याइयो तर यसपटक विचार गरेर मतदान गर्ने हो ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकामा नगर प्रमुखमा वासुदेव घिमिरे र उपप्रमुखमा जाज्ञेश्वरी चौधरीले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मुख्य एजेन्डा बोकेर चुनाव जित्नुभएको थियो । तर, स्थानीय सरकारको पाँचवर्षे कार्यकाल सकिँदासमेत भूमिहीन तथा सुकुम्बासीले लालपुर्जा पाउन सकेनन् ।

आगामी निर्वाचनमा पनि दलहरू यही र यस्तै नारा दिएर सुकुम्बासी र अव्यवस्थित बस्तीमा देखा पर्न थालेको स्थानीयहरू बताउँछन् । दुई वडामा पर्ने सिमानगरमा झण्डै ६०० सय घरपरिवारहरू रहेको बताइन्छ । तिलोत्तमा ४ र ३ को यो बस्तीजस्तै अन्य वडाहरूको अवस्था पनि उस्तै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?