जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ ।

बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताउनुभएको छ । उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताउनु भयो । उहाँले हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले उहाँले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताउनु भयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उहाँले उहाँको सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मानिसहरुलाई त के ग¥यो प्रचण्डले भन्ने पनि लाग्छ । तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भुमिका खेल्यो । हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले । अरुले सकेका थिएनन् । धरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरे । यो आँट गरेकोमा सबैले ठिकै माने कसैले बिरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहीँ अहिले निकै ठुलो टिका टिप्पणी हुने गरेको छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ नै हो । त्यसलाई अहिले जति दबाउन खोजेपनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरी उठ्छ । किनभने हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । कार्ल माक्र्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति सर्मपित भएर त्याग गर्ने सहिदहरु कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानाट फेरि ति जाग्छन् । र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन् । ति हजारौँ सहिदहरु कहिल्यैपनि दबिने छैनन् ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जनयुद्धको दर्शन, त्यसभित्र लिइएका रणनीति, अभ्यासहरु, नीतिहरु, त्यतिबेला हामीले अपनाइएका कार्यशैलीहरु, आचारसंहिताहरु, त्याग, तपस्याहरु, हामीले त कुनै तलव, भत्तामा होइन । भएको सम्पतिहरु पनि सकेर सम्पूर्ण रुपले राष्ट्र र जनताको निम्ति यो देशका सबै महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु सबै सबैको पहिचान र अधिकारको निम्ति आफू बरु मेटिने जतालाई सबैलाई पहिचान र अधिकार चाहियो । समावेशिता, समानुपातिकता चाहियो भन्ने उद्देश्यका साथ उदात्त विचार र भावनासहित गरिएको महान त्याग थियो । पृथ्वीनारायण शाहले राज्य एकिकरणको बेलामा गरे पछिको अर्को ठुलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रुपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपिकरण गर्ने । र निरंकुशतालाई अगाडी ल्याउने जमर्कोहरु अझैपनि देखा पर्छन् ।’

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारितमा माथि अन्याय हुने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले कितावमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नुभयो । कतिपय घटनाक्रम जसरी उहाँले भन्नुभएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ । तर उहाँको बानि, व्यहोरा अनुसार उहाँले लेख्नुभएको हो । उहाँको स्वभाव अनुसार लेख्नुभएको छ जस्ताको तस्तै । तर यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने प्ले गर्न सक्नेपनि हुनसक्छ । तर म सबैलाई के भन्छु भने, सुरक्षामा काम गर्नेपनि, न्यायालयमा काम गर्नेहरुलाई पनि, राजनीतिकालाई पनि । यो उहाँको इमान्दारिता र सरलताको प्रतिक हो । यसलाई कुनैपनि अर्थमा आग्रह र पूर्वाग्रहले हेरिनु हुँदैन । त्यो हेरियो भने अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ । उहाँको पारदर्शिता, इमान्दारिता र निष्ठालाई त्यही रुपमा बुझिनुपर्छ ।’

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताउनु भयो । उहाँले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताउनु भयो । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उहाँको भनाई छ ।

उहाँले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरु सँगको आफ्नो सम्बन्ध, राजनीतिक भुमिकाहरुको पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?