जसपा विभाजन : नेता-कार्यकर्तालाई आफ्नो पक्षमा तान्ने दुवैपक्षको कसरत, कोही तटस्थ बस्दै कोही पार्टी परित्याग गर्दै

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच विभाजनको विवाद पार्टी विभाजनको चरणमा पुगेपछि नेताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । पार्टी परित्याग गर्ने कतिपय नेताहरू अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् भने कतिपय तटस्थ बस्ने देखिएका छन् । शुक्रबार मात्र जसपाका संघीय परिषद्का दुईजना तथा मधेश प्रदेशका दुईजना सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका थिए । यसअघि कार्यकारिणी सदस्य रेणु यादवले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो । कानुनी विभाजनको सँघारमा रहेको जसपामा दुवै पक्षले नेता-कार्यकर्तालाई आफ्नो पक्षमा तान्नसमेत कसरत गरिरहेका छन् । दुवै पक्षमा खुल्न नचाहेका नेताहरू भने राजीनामा दिएर तटस्थ बस्ने वा अन्य पार्टीमा जान थालेका छन् । केही भने औपचारिक विभाजनपछि मात्रे खुल्ने मनशायमा छन् । काठमाडौं र वीरगञ्जमा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेपछि जसपा राजनीतिक रूपमा विभाजित भएको छ । काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गरेको भट्टराई पक्षले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो । उता वीरगञ्जमा सम्पन्न यादव पक्षको बैठकले डा. भट्टराईसहितका नेताहरूलाई पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो । कारबाहीमा परेपछि अब बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने वा विचार मिल्नेसँग एकता गर्ने विषयमा टुंगो लागिसकेको छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने गरी अध्यादेश ल्याएपछि २०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जसपा गठन भएको थियो । पछि ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई समूहबीच मतान्तर देखिएपछि गत भदौमा पहिलोपटक जसपा विभाजन भएको थियो । ठाकुर-महतो पक्षले लोसपा गठन गरेका थिए । अहिले जसपा तेस्रो विभाजनको तयारीमा छ ।

दुईजना केन्द्रीय सदस्यसहित ६९ जनाद्वारा पार्टी परित्याग
जसपा नेपालका दुईजना केन्द्रीय सदस्य र एकजना प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्य, मधेश प्रदेशका सदस्य सलाउदिन अहमदसहित ६९ जनाले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन रहेका छन् । केन्द्रीय सदस्य वीरेन्द्र यादवले एकलौटी तरिकाले जसपा सञ्चालन भइरहेकोले काम गर्न गाह्रो भएको भन्दै पार्टी छाडेको बताउनुभयो । नेताहरू जनताको हितमा काम गर्नुको सट्टा व्यक्तिगत स्वार्थमा लागेको उहाँको आरोप थियो ।

नेपालमा भूराजनीतिको प्रभाव छ : उपेन्द्र यादव
जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालमा भूराजनीतिक प्रभाव रहेको बताउनुभएको छ । नेपाल-चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष यादवले नेपालको राजनीतिक भूराजनीतिक प्रभाव देखिँदै आएको बताउनुभयो । भूराजनीतिक प्रभावकै कारण केपी शर्मा ओली प्रधानमन्त्रीबाट पूर्व-प्रधानमन्त्री बन्नुभएको उहाँले दाबी गर्नुभयो । राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उहाँको भनाइ छ । ‘भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दुर्घटनाहरू भएका छन् । नेपालको परिवेशमा भूराजनीति बडो संवेदनशील छ र हुँदै गएको छ, उहाँले भन्नुभयो, ‘हाम्रो मुलुक राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । पूर्व-प्रधानमन्त्री (केपी शर्मा ओली)जी यहीँ हुनुहुन्छ । म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरू धेरै छन । तर, बाह्य कारणहरू पनि जोडिएका छन ।’ दुई ठूला छिमेकी मुलुक भारत र चीनले रुस-युक्रेन युद्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?