सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन मेरो पहिलो प्राथमिकता : तीर्थ महर्जन

कृष्ण भुसाल
Read Time = 11 mins

२०७९ वैशाख ३० गते सम्पन्न हुने दोस्रो स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका-१७ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा तीर्थ महर्जन चुनावी मैदानमा हुनुहुन्छ । ललितपुरको सांस्कृतिक महत्वको वडा नं. १७ मा आफू निर्वाचित भएमा भौतिक तथा मानवीय विकासका साथसाथै मूर्त अमूर्त सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनमा आफ्नो मुख्य कार्य रहेको बताउनुहुने महर्जन वडावासीले यसपाली आफूलाई विजयी बनाउनेमा ढुक्क देखिनुहुन्छ । स्थानीयस्तरमा इमानदारिता, सद्भाव, सहकार्य एवं स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राख्नुहुने तीर्थ महर्जनसँग आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला स्थानीय चुनावलाई लिएर यहाँ वडावासीको घर-घरमा गइरहनुभएको छ, उहाँहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मैले वडावासीको घर-घरमा पुग्दा उहाँहरूका फरक-फरक प्रतिक्रिया पाएको छु । उहाँहरूको मनसाय सबै कार्य वडाबाट भइदिए हुने थियो भन्ने पाएको छु मैले । सुलभ तरिकाले वडाबाटै काम हुनेमा तपाईंहरूले प्रयास गर्नुपर्छ भन्ने उहाँहरूको सुझाव छ । मूलरूपमा मेरो उम्मेदवारी मेरो र पार्टीको चाहनामात्र होइन, यो यहाँका जनताको माग पनि हो । त्यसै अनुसारको प्रतिक्रिया पनि पाइरहेको छु ।

तपाईं वडावासीको घर-घरमा के-कस्ता कार्ययोजना अर्थात् एजेन्डा लिएर जानुभएको छ ?
ललितपुर खासगरी सांस्कृतिक धरोहरहरूको शहर हो । यहाँ पाटीपौवा, मठमन्दिर रहेका छन् । यसको उचित संरक्षण र रेखदेख हुन सकेको छैन । पाटीहरूलाई व्यवस्थित गर्न सकिएको छैन । यसलाई व्यवस्थित गर्न जरुरी छ । हामीकहाँ भौतिक विकासलाई मात्र प्राथमिकता दिइएको छ । तर, अब यहाँ भौतिक विकास सँगसँगै मानवीय विकास आजको आवश्यकता हो । हामीले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सोचेर विकास हुन जरुरी छ ।

तपाईंका प्रतिबद्धता के-कस्ता रहेका छन् ?
मैले केही प्रतिबद्धता वडावासीसमक्ष राखेको छु । तिनमा योजना तर्जुमा र कार्यान्वयन, विकास कार्यक्रम, यसमा शिक्षा, स्वास्थ्य, सरसफाइ, फोहारमैला र खानेपानी व्यवस्था । यस्तै सांस्कृतिक प्रवद्र्धन, कृषि, खेलकुद, यातायात, उद्योग र रोजगार, सामाजिक सुरक्षा, सामाजिक तथा आर्थिक सशक्तीकरण, असहाय, बेवारिस, अशक्त व्यक्तिहरूको संरक्षण र सहायतासम्बन्धी कार्य, हरियालीमैत्री क्षेत्र, पूर्वाधार विकास, प्रशासनिक कार्यजस्ता विभिन्न विषयमा कार्ययोजना मैले वडावासीसमक्ष पेश गरेको छु ।

यसलाई अलिक विस्तृत गर्नुपर्दा ?
मैले आफ्ना प्रतिबद्धता वडावासीमा विस्तृतरूपमा राखेको छु । केहीको चर्चा गर्नुपर्दा साझा सहभागितामूलक योजना तर्जुमा प्रणालीमार्फत् टोल वा बस्तीस्तरबाट योजना माग संकलन, प्राविधिकीकरण तथा छनोट गरी वैज्ञानिक तवरले कार्य सम्पादन गर्ने । वडाको नयाँ विस्तारित क्षेत्र र टोल सुधार समितिहरूको विशेषरूपमा छलफल र परामर्श लिई योजना बनाउँदा नयाँ बस्तीको भौतिक विकासमा विशेष ध्यान दिने । १७ वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक सचेतना केन्द्र, टोल सुधार संघलगायत सामुदायिक संघसंस्था, निकायहरू र वडाका बौद्धिक व्यक्तित्वहरूसँग परामर्श, छलफल तथा सहभागितामूलक अवलम्बन गरी कार्य गर्ने । यस्तै २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भई बनाउन बाँकी रहेका वडाभित्रका सांस्कृतिक सम्पदा पुनः निर्माण गर्न आवश्यक पहलकदमी गर्ने र वडावासीका क्षतिग्रस्त घर निर्माणमा सहजीकरण गर्ने मेरो प्राथमिकता रहनेछ ।

यसैगरी १७ वडामा बाल क्लब तथा बाल सञ्जालको सञ्चालन गरी बाल विकासमा ध्यान पुर्‍याउने । निजी विद्यालयहरूसँग व्यापक छलफल गरी समाजप्रति उत्तरदायित्व वहन गराई आर्थिक स्तर कमजोर भएका जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहजीकरण गर्ने । वडाभित्रका सामुदायिक विद्यालयलाई आधुनिकस्तरको उन्नत गरी भौतिक पूर्वाधारमा ध्यान दिई निजी क्षेत्रका विद्यालयको स्तर बराबर गर्ने । यस्तै हाल चलिआएको वडास्तरको स्वास्थ्य केन्द्र र उपचार केन्द्रमा आवश्यक उपकरण व्यवस्था गरी वडावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, विशेषज्ञ डाक्टरको व्यवस्था गर्ने । ज्येष्ठ नागरिकहरूका लागि एकीकृत आश्रय स्थल निर्माणमा ध्यान दिने । वडास्तरीय एम्बुलेन्सको व्यवस्था गर्ने जस्ता कार्य मेरो प्राथमिकतामा पर्नेछन् ।

त्यसैगरी स्थानीय समुदायका चाडपर्व, भाषा, संस्कृति विकासका लागि जनचेतनामूलक कार्यक्रम चलाउने । सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण र प्रवद्र्धन गर्ने साथै लोपोन्मुख बाजागाजाहरूको पुनर्रुत्थान र विकासका लागि आवश्यक कार्य गर्ने मेरो प्रतिबद्धता रहेको छ । यस्तै कृषि, खेलकुद, यातायात, समाजिक सुरक्षा, हरियालीलगायत विषय मेरो प्राथमिकतामा रहनेछन् ।

यी सब तपाईंका चुनावी नारामात्र त होलान् नि ?
होइन, एकदमै होइन । यो मेरो वडावासीसँगको प्रतिबद्धता हो । म विजय भएर आएपछि उहाँहरूकै सल्लाह, सहयोग लिएर अघि बढ्नेछु । वडावासीसँग हरेक कदम-कदममा म साथ रहनेछु । म आफूलाई जनताको सेवकका रूपमा नै प्रस्तुत गर्नेछु । हामीसँग समय तालिकासहितका विभिन्न योजनाहरू छन्, जुन अवश्य हामी पूरा गर्नेछौँ । म वडावासीको हरेक दुःख, सुखमा साथ रहनेछु । अन्य विकास सँगसँगै मुख्य गरेर मठमन्दिर, पाटीपौवा, गुठीलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धन नै मेरो मुख्य कार्य रहनेछ ।

तपाईं आफू निर्वाचित हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
यसअघि पनि म वडाध्यक्षको प्रत्यासी थिएँ । त्यस समयमा पनि म जित्नेमा ढुक्क थिएँ । साथीहरूले मलाई बधाई पनि दिनुभएको थियो । तर, निर्वाचन भनेको आफूले सोचेजस्तो हुँदोरहेन्छ । विभिन्न फ्याक्टरले असर गर्दोरहेछ । त्यो बेला पनि म हारेको होइन । झिनो मतान्तर भएको थियो । विपक्षीले साम, दाम, दण्ड, भेद प्रयोग गरेर विजय भएका थिए । तर, व्यापक जनमत मेरो नै थियो । म हारेर पनि जितेको थिएँ । यसपाली म विजयी हुनेमा ढुक्क छु । आशावादी छु । सम्पूर्ण वडावासीको साथ मलाई रहेको छ ।

अन्त्यमा ?
यो पार्टी र त्यो पार्टी भन्ने मेरो भेदभाव रहने छैन । म सबैलाई समेटेर अघि बढनेछु । भोलि वडाध्यक्ष विजयी भएपछि कुनै पार्टीको वडाध्यक्ष नभएर सम्पूर्ण वडावासीको सुख, दुःखको साथी भएर रहने प्रण गर्दछु । म यस वडालाई राम्रो र नमुना वडाका रूपमा विकास गर्न चाहन्छु । मसँग वडाको समग्र भौतिक तथा मानवीय विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना रहेको छ । वडालाई कसरी नमुना वडा बनाउन सकिन्छ भन्ने ‘भिजन र मिसन’ छ । मलाई एकपटक काम गरेर देखाउने मौका दिन यहाँका मतदातालाई आग्रह गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?