‘महानगर बनाउने सयौं भिजन तयार गरिसकेको छु’

Read Time = 15 mins

केशव स्थापित, मेयरका उम्मेदवार, नेकपा एमाले

काठमाडौं । यतिबेला स्थानीय चुनावको माहोल गर्माएको छ । देशकै संघीय राजधानी भएकाले काठमाडौं महानगरपालिका विशेष चासोका रूपमा रहेको छ । यो महानगरमा सत्ता गठबन्धन पाँच दलले साझा उम्मेदवार बनाएका छन् । पाँच दलका तर्फबाट मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमाले एकलरूपमा चुनावी मैदानमा छ । एमालेबाट केशव स्थापित मेयरका उम्मेदवार हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मदनदास श्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बाँस्कोटा, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) हुनुहुन्छ । यो महानगरमा मेयरमा अन्य केहीले पनि उम्मेदवारी दिएका छन् ।

२५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुल्नुभएका एमालेबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । आफूसँग महानगर बनाउने सयौं भिजन तयार भएको बताउनुहुने मेयरका उम्मेदवार केशव स्थापितसँग मिसन, भिजन र गोलका बारेमा गरिएको संक्षिप्त कुराकानी–

तपाईंले महानगरको समग्र विकासका लागि आफ्ना दृष्टिकोण राख्दै आउनुभएको छ, केहीको चर्चा गर्नुपर्दा ?

आफ्नो जीवनबारे गफ गर्ने युवाहरूका लागि काठमाडौंमा ठाउँ नै छैन । म युवाहरूलाई जीवन र भविष्यको विषयमा कथा हाल्ने एक सयवटा स्थान निर्माण गरिदिन्छु । युवाको इच्छाअनुसार महानगरलाई स्मार्ट सिटी बनाउनेछु । राजधानीका सम्पदा छोपिने गरी लगाइएका अग्ला पर्खाल भत्काएर पारदर्शी बनाउन लगाउनेछु । युवा पुस्ता घुम्न, खेल्न जाने गरी महानगरका विभिन्न स्थानमा रमणीय क्षेत्रको विकास गर्नेछु । मसँग नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना छ । पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खालमात्रै तोड्न सकियो भने त्यहाँभित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरू खुसी हुन्छन् । त्यो क्षेत्रमा साँझमा घुम्न पुग्दा स्वर्गको अनुभूति हुने काम गर्नेछु । नारायणहिटीभित्र संघीय सरकारको सहयोगमा झलमल्ल बत्ती बाल्नेछु, पानीको फोहोरा बनाउनेछु । त्यहाँ बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि पानीको फोहोरा भएको पार्क निर्माण गर्न जोड दिनेछु । केशरमहलको वरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ बनाउन पहल गर्नेछु । विशेषगरी युवा र बालबालिका साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा काठमाडौं महानगर भन्दै खुसी भएर फर्कनेछन् । महानगर त यस्तो पो हुँदोरहेछ भन्ने बनाउनेछु । यस्ता पार्क शहरभरि धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरूको योजना के छ ? अपेक्षा के छ ? भनेर घुलनशील गराउने योजना छ । युवाहरूलाई प्रोत्साहन गर्न विश्वस्तरीय २० वटा जिम हल स्थापना गर्ने र शहरी पार्क निर्माण गर्ने योजना छ । मसँग युवाहरूलाई उनीहरूको योग्यता, क्षमता र रुचिअनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता छ । त्यतिमात्रै होइन, तत्काल गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ निर्माण गर्ने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्नेछु ।

महानगरवासीलाई जहिले फोहोरको पिरलो रहने गर्दछ, यसको समाधान कसरी गर्नुहुन्छ ?

म मेयर भएपछि पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई नै दिनेछु । सधैं अवरोध गर्ने स्थानीयसँग वार्ता गर्नेछु । तत्काल समाधान गर्न पहल थाल्नेछु । कुहिने र नकुहिने फोहोरका छुट्टाछुट्टै व्यवस्थापन गर्न बाध्यकारी व्यवस्था गर्नेछु । मेरो कार्यकालमा फोहोरमैलाको कहिल्यै पनि समस्या नहुने गरी समाधान गर्नेछु । उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नुपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्नेछु । काठमाडौं महानगरपालिकामात्रै होइन, उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुलीलगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ । त्यसो भएपछि मात्रै समस्या समाधान हुन सक्छ । उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नुपर्ने जस्तो परम्पराको अन्त्य गर्नेछु । ट्राफिक व्यवस्थापन र वातावरणमैत्री शहर निर्माणका लागि अपांग, बालबालिका र वृद्धवृद्धामैत्री विद्युतीय सवारीलाई प्राथमिकता दिनेछु । पार्क निर्माण गर्नेछु । ट्राफिक व्यवस्थापनलाई सहज गर्न ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थित सवारी पार्किङको व्यवस्थापन गर्नेछु ।

महानगरका महिला र बालबालिकाका लागि यहाँका के-कस्ता योजना रहेका छन् ?

अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना छ । मेयर स्वास्थ्य कार्यक्रम र घर-घरमा स्वस्थ नारी कार्यक्रमलाई अघि बढाउनेछु । केही महिना बृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर-घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्नेछौँ । त्यो टिमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी छन् भनी अनुसन्धान पनि गर्नेछ । त्यही टिमले उहाँहरूको थप स्वास्थ्यका लागि सहजीकरणसमेत गर्नेछ । यस्ता पाँच-सातवटै स्वास्थ्यसम्बन्धी प्रष्ट योजना बनाएर अघि बढ्नेछौँ । यतिमात्रै होइन, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वाथ्य परीक्षण गर्ने व्यवस्था गर्नेछौँ । दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । बालबालिकालाई बगैंचा र खेल मैदानको व्यवस्था गर्नेछु । शिशु कक्षालाई प्राथमिकतामा राख्नेछु । हरेक विद्यालयमा अनिवार्य शिशु कक्षा सञ्चालन गर्न प्रोत्साहन गर्नेछौँ । महिलाको हित र सशक्तीकरण योजना ल्याउनेछु । महिलालाई कुनै पनि समस्या परे महानगरमै महिला सहयोग केन्द्र स्थापना गर्नेछु । बालअधिकार सुनिश्चित गर्न पहल गर्नेछु ।

ट्राफिक समस्याका साथसाथै उपत्यकाको सवारी व्यवस्थापन कसरी गर्ने योजना छ ? धुलो र धुँवा नियन्त्रण गर्ने कस्तो योजना छ ?

उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना छ । उपत्यकाका १८ वटै स्थानीय तहसँगको समन्वयमा महानगरपालिकाको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्छौं । त्यहाँ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सबै कुराको जाँच गर्छ । त्योसँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइपखाली गरी राजधानी भित्रिने व्यवस्था गर्छौं । धुलो भिœयाउने सवारीसाधन नियन्त्रणमा लिएर गाडी धोएरमात्र उपत्यका छिर्ने व्यवस्था गर्नेछौं । त्यतिमात्रै गर्ने हो भने यहाँको धुलोको ९० प्रतिशत समस्या समाधान हुन्छ । वृक्षारोपणलाई व्यापक बनाउनेछौँ । सवारीको मापदण्ड जाँचमा कडाइ गर्नेछौँ । ठूला सवारीसाधनलाई राती रिङरोडमा मात्रै प्रवेश गर्ने व्यवस्था गर्नेछौँ । विद्युतीय सवारीसाधन ल्याउन पहल गर्नेछौँ ।

महानगरको शिक्षाका विषयमा यहाँको दृष्टिकोण कस्तो रहेको छ ?

मेयरले शिक्षामा परिवर्तन गर्न सक्दैन, सुधार्नमात्र सक्छ । त्यसका लागि सामुदायिक विद्यालयलाई सूचना प्रविधिले भरिपूर्ण हाइटेक बनाउनेछु । सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास गर्नेछौँ । विद्यालयमा इन्टरनेट फ्रि गर्ने योजना ल्याउनेछौंँ । महानगर क्षेत्रमा विद्यालयको संख्या धेरै छ । विद्यालय मर्जरको नीतिलाई अघि बढाउनेछौं । ठूलो क्षेत्रफल भएका विद्यालयलाई व्यवस्थित बनाउनेछौँ । दुईचार आना जग्गा भएका विद्यालयलाई मर्ज गरी ठूलो विद्यालयमा गाभ्नेछौँ । विद्यालयको भवन भव्य बनाउनेछौँ । विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण बनाउनेछौँ । लामो समयसम्म पढाइसकेका शिक्षकलाई थप रकम दिएर बिदा दिने योजना बनाएका छौँ । राम्रो शिक्षक भर्ना गरेर सामुदायिक विद्यालयको अवस्था निजीको भन्दा पनि राम्रो बनाउने सोचमा छौँ । सरकारले मावि तहसम्म निःशुल्क शिक्षा दिएको छ । कतिपय विद्यालयले शुल्क लिने गरेको गुनासो सुनेको छु । सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने व्यवस्था गर्नेछौँ । छात्रवृत्तिलाई पारदर्शी बनाउने योजना छ । गरिब विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्नेछौँ । शिक्षामा आमूल परिवर्तन गर्ने सोच लिएका छौँ । स्थानीय भाषा र पाठ्यक्रमलाई जोड दिनेछौँ ।

अन्त्यमा ?
म पहिलोपटक मेयर निर्वाचित हुँदा काठमाडौं महानगरपालिका महानगरजस्तो थिएन । म मेयर भएपछि कालिमाटीमा सामान्यरूपमा रहेको कार्यालयलाई टेकु हुँदै बागदरबारको भव्य महलमा सार्न सफल भएँ । भुइँको कार्यालयलाई महलमा लगेर व्यवस्थित बनाउने मै हुँ । प्रशासन सुधारमा पनि मैले उल्लेख्य भूमिका खेलेको छु । निराशाहरूलाई आशामा बदल्न त्यसबेला शहरी योजना आयोग स्थापना गरेको हँु । मैले नेतृत्व सम्हालेको करिब ६ महिनापछि एकीकृत शहरी विकासको योजना अघि बढाएँ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोबिखोला करिडोरको कामलाई मेरै कार्यकालमा अघि बढाएँ । रानीपोखरी, धरहरा, कमलपोखरी महानगरको स्वामित्वमा ल्याउन सफल भएँ । बाटो चौडा गर्न सफल भएँ । आकाशेपुल बनाएँ । रत्नपार्क र माइतीघरको अधिग्रहण गरेको जग्गा खुला बनाएँ । यस्ता दर्जनौँ काम मेरो कार्यकालमा भएका थिए । त्यही काम देखेर महानगरवासीले अहिले पनि केशव स्थापितलाई मेयर भएको हेर्न चाहेका छन् । अब उहाँहरूको सुन्दर महानगर हेर्न पाउने सपना पूरा गर्नेछु । उहाँहरूको चाहना पूरा गर्न सबै महानगरवासीको सहयोग आवश्यक पर्छ, उहाँहरूको सहयोग पाउने अपेक्षा राखेको छु । ममात्र होइन, उपमेयरसहित सबै टिम जित्नुपर्छ । ललितपुर महानगरपालिका पनि हामीले नै जितेपछि दुवै महानगरपालिकामा नयाँ योजनाअनुसार काम अघि बढाउन सफल हुनेछौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?