नेपालमा लगानी गर्न अस्ट्रेलियासँग आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले नेपालका तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालस्थित अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन उसले आग्रह गरेको हो । साथै सिएनआईले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि आग्रह गरेको छ ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानीमा जोड दिनुभयो । नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसर रहेको उल्लेख गर्दै उहाँले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई झनै मजबुत बनाउन संस्थागतरूपमा व्यावसायिक क्षेत्र पहिचान र पहलमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले अस्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनामा काम गरिरहेको भन्दै आगामी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत् विकासमा रहेका अवसर, नेपालमा अस्ट्रेलियाकोे विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिइएको थियो । नेपालमा सञ्चालित व्यवसायिक तालिमलाई अस्ट्रेलियामा समेत मान्यताका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्ने पनि सिएनआईको आग्रह छ ।

सो अवसरमा सिएनआईका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषद्का सभापति द्विराज शर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद् सभापति विकास दुगड, एफडिआई समिति सभापति साइबल घोस र सिएनआईको एड्भाइजर्स काउन्सिल सदस्य डा. रामहरि लामिछाने एवं शिक्षा परिषद्का सदस्यका साथै दूतावासतर्फबाट वरिष्ठ व्यापार तथा लगानी कमिसनर डा. मोनिका केन्नेडी, रोशनपल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको सिएनआईले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?